पुस १७, वालिङ
स्याङ्जाको वालिङमा राष्ट्रिय प्रजातान्त्रिक धार्मिक संगठनले विरोधसभा सम्पन्न गरेको छ । नेपाल सरकारका मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको विरुद्धमा संगठनले मङ्गलबार विरोधसभा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति विरुद्ध विरोध सभाको आयोजना गरिएको संगठनले जनाएको छ ।
कार्यक्रममा सनातन जागरण अभियन्ता चैतन्यकृष्णले यस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने मन्त्री किराँतीले तुरुन्त राजिनामा दिनुपर्ने बताउनुभयो । अन्य मुलुकमा भएको भए दुईदिनमा राजिनामा दिइसक्ने उल्लेख गर्दै चैतन्यकृष्णले नेपालमा यस्तो संस्कार नबसेकाले गलत व्यक्तिहरु राज्यका जिम्मेवार पदमा रहिरहने प्रवृत्ति हावी भएको बताउनुभयो । यस्ता गलत व्यक्ति र कुसंस्कारको विरुद्धमा सबैजना एकतावद्ध भएर लाग्नुपर्ने उहाँले औंल्याउनुभयो । कार्यक्रमका अवसरमा चैतन्यकृष्णले वैदिक सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी प्रवचनसमेत दिनुभएको थियो ।
कार्यक्रममा वैदिक सनातनी धर्मावलम्वी, समाजसेवी, शैक्षिक व्यक्तित्वलगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।