Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बुवाको अर्तिबुद्धिमा लागेर गाउँमै रमाएको छु......

बुवाको अर्तिबुद्धिमा लागेर गाउँमै रमाएको छु......

  • गोपाल जिटी
  • सोमवार, पौष २३ २०८०


  • बुवाको अर्तिबुद्धिमा लागेर गाउँमै रमाएको छु......

    पुस २३, वालिङ
    “आगो ताप्नु मुढाको अर्ती सुन्नु बुढाको” भन्ने नेपाली समाजको प्रचलित उखान हो । यही उखान अनुसार एक किसानले गाउँकै जेठो र सफल कृषकको परिचय बनाएका छन् । बुवाको अर्ती पालना गरेर उनको जीवन सुखद रहेको छ । २०४५ सालमा बुवाले लगाएको सुन्तला बगानको आम्दानीले उनको पारिवारिक जीवन गाउँमै रमाएको छ । उनी हुन् स्याङ्जाको वालिङ नगरपालिका २ सियाँलेका इन्द्रप्रसाद पौडेल ।

    20231209_155445.jpgलिलाकृष्णका छोरा इन्द्रप्रसाद आफ्ना बुवाको अर्तिबुद्धिमा लागेर गाउँमै कृषिकर्ममा लागेर जीवन सुखद बनाएका हुन् । अहिले गाउँकै जेठो व्यावसायिक कृषककारुपमा चिनिन्छन् उनी । सियाँलेमा आफ्नो बुवाले सुन्तला लगाउन सुरु गरेको र त्यही बगान जीवनको आधार बनेको हो । योसँगै गाउँकै जेठो कृषक हुन पाउँदा गर्व लाग्छ पौडेलले भने ।
    पहिलादेखि नै जाँगरिला कृषकमा पर्छन् उनी । नजिकैको रामबाच्छा बजारमा कहिले तरकारी त कहिले सुन्तला डोकोमा बोकेर बिक्रि गरेको उनको अनुभव छ । यसरी परिश्रम गर्दा गर्दै गाउँका अरु साथीहरु पैसा कमाउन घर बाहिर जाने गरेको देख्दा उनलाई पनि त्यही हुटहुटीले भारत पु¥यायो । त्यहाँ करिव ४ वर्ष काम गरेर फर्केपछि भने बुवाले कतै जानुपर्दैन मैले लगाएको सुन्तलालाई मलजल गरे घरमै पैसा आउँछ भनेपछि कृषिकर्मलाई निरन्तरता दिए । बुवाको भनाई अनुसार गर्दै जाँदा आम्दानी बढ्दै आयो, काममा थप उत्साही बनाएको र निरन्तर लागेको पौडेल सुनाउछन् ।

    images

    उनी भन्छन्—“हाम्रो बारीमा सुन्तला राम्रो फल्छ, अन्त कतै मन डुलाउनु पर्दैन, यही सुन्तला रेखदेख गर्नसके घरमै बसेर आम्दानी हुन्छ । सके अरु पनि लगाए राम्रो, होइन भने पनि मैले लगाएका सुन्तलाको राम्रो हेरचाह गरिस भने घरमै पैसा आउँछ, कतै दुःख पाउनु पर्दैन । सोहि अनुसार मैले पनि गर्दै आएँ उहाँको अर्तिबुद्धिले गाउँमै रमाएको छु, खुसी छु ।” 
    हुन पनि २०४५ सालमा आफ्ना बुवाले लगाएका करिव एक सय बोट सुन्तलाले इन्द्रप्रसादलाई आम्दानी दिइरहेको छ । तीनवर्ष अगाडि यी बोट बुढा भए, हटाएर नयाँ बिरुवा लगाउने सोंच आयो उनले भने । बुवाले लगाएका बोट हुन् अझ एकपटक राम्रोसँग मलजल गरेर हेर्न मन लाग्यो र गरें । अहिले फेरि पुरानै शैलीमा लटरम्म फलेका छन् खुसी लाग्छ । अहिले पनि यति राम्रो फलेको देख्दा उबेलामा बुवाले दिएको अर्ति सुनिरहेको र उहाँको अनुहार झलझली देखेको अनुभूति हुन्छ, गर्व लाग्छ पौडेलले खुसीहुँदै भने । योेसँगै अरु १ सय ५० बोटसहित पौडेलको बगैंचामा २ सय ५० बोटले फल दिएका छन् । गतवर्ष साढे सात लाख पारेका पौडेलले अहिले १० लाख भन्दा धेरै आम्दानी हुने उनको अनुमान छ । यही सुन्तलाको बगानले एक छोरी र दुई छोराको पढाइ लेखाइसहित विवाहदानको साङ्गो पाङ्गो सहजै लगाउन पाएकोमा पौडेल खुसी छन् । माटो सुहाउँदो खेती गर्ने हो भने गाउँघरमै अवसर छ । एकछिन गरेर हुँदैन, निरन्तरता दिन सकियो भने कृषि पेशामा आम्दानीसहित सुखद जीवन जिउन सकिने उनको भनाई छ ।

    सोमवार, पौष २३ २०८००४:३६:५९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend