पुस २७, वालिङ
पाल्पाको रामपुर नगरपालिकाले नगर सभा तथा १४ औँ अधिवेशन सम्पन्न गरेको छ । स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मतले पारित गर्दै नगर सभा सकिएको हो । यस्तै नगरसभाले विभिन्न योजनाको बजेट रकमान्तर र शिर्षकान्तर, ऐन तथा कार्यविधि पारितसहित विभिन्न समिति पुनर्गठन समेत गरेको छ ।
नगरसभाले वडा तथा नगर स्तरीय ६३ वटा योजनाको रकमान्तर तथा शिर्षकान्तर गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नु भएको बजेट रकमान्तर र शिर्षकान्तर नगरसभाले सर्वसम्मत पारित गरेको हो । यस्तै न्यायीक समितिको कार्य विधि सम्बन्धी ऐन २०७५ संशोधन सहित पारित गरेको छ । नगर सभाका सदस्य तथा विधेयक समिति सदस्य दिनेश आचार्यले प्रस्तुत गर्नुभएको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन र न्यायीक समितिको कार्यविधि संशोधन सहित सर्वसम्मत पारित गरेको हो । यस्तै लेखा समिति संयोजक दामोदर पाठकले सभामा वेरुजु संंपरिक्षण प्रतिवेदन पारित गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो ।
अधिवेशनले विभिन्न समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सभाले तेज बहादुर रानाको संयोजकत्वमा ५ सदस्यीय लेखा समिति गठन गरेको छ । यस्तै मिनबहादुर सिंजालीको संयोजकत्वमा विधायन समिति र मोहन सिं रानाको संयोजकत्वमा अनुगमन तथा सुशासन समिति गठन गरेको छ । यी दुवै समिति ५ सदस्यीय रहेका छन् ।
सभामा पेश भएको बजेट रकमान्तर शिर्षकान्तरको विषयमा बोल्दै नगर प्रवक्ता कपिल बहादुर खाँणले विद्यालयको अनुगमनको शिर्षक उल्लेखसहित संशोधन माग गर्नु भएको थियो भने सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । सभामा उठेका प्रश्न र प्रस्ताव बारे स्पष्ट पार्दै सभाध्यक्ष एवम् नगर प्रमुख रमणबहादुर थापाले हरेक योजना तथा ऐन कार्यान्वन गर्दा विधि सम्मत रुपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरको समुचित विकास र समृद्धिका लागि बजेटको कार्यान्वयन र पारदर्शीतामा सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।