पुस २९, वालिङ
स्याङ्जा जिल्लाका ११ पालिकामध्ये बिरुवा गाउँपालिका पनि एक हो । बिरुवा गाउँपालिकाको मुख्य आधार कृषि हो । गाउँपालिकाले हरेक वडाहरुको अवस्थालाई मध्येनजर गरेर कृषि व्यावसायिकरणलाई प्राथमिता दिएर लागेको छ ।
यस अन्तर्गत वडा नम्वर ७ का अधिकांश किसानहरु सुन्तला उत्पादनमा सक्रीय छन् । विगत १५ वर्षदेखि यहाँका किसानहरु सुन्तला खेति व्यावसायिकरुपमा गर्दै आएका हुन् ।
सुन्तलाखेति राम्रो हुने भएपछि गाउँपालिकाले पनि किसान प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिएर लागेको छ । सुन्तला व्यावसायीकरणमा थप टेवा पुगोस भनेर गतवर्ष किसानहरुको मागको आधारमाबिरुवा वितरण गरिएको छ ।
७ नम्वर वडामा मात्रै व्यावसायिकरुपमा गर्ने ३५ जना किसान छन् । यहाँका किसानहरुले १ लाखदेखि २० लाखसम्म वार्षिक आम्दानी गर्न सफल भएका वडा अध्यक्ष मेखराज गुरुङ बताउँनुहुन्छ । योसँगै परम्परागतरुपमा पहिलादेखि नै सुन्तला फलाउँदै आएको यो वडा सुन्तला उत्पादनमा अव्वल बन्दै छ ।
वडा अध्यक्ष गुरुङका अनुसार गतवर्ष ३ करोडको हाराहारीमा सुन्तला बिक्रि गरेको किसानहरुले यो वर्ष साढे ३ करोड भन्दा बढि आम्दानी गर्ने अनुमान छ । पोहोर साल भन्दा अहिले राम्रो भएकाले साढे तीन करोड भन्दा पनि धेरै आम्दानी हुने अनुमान गरिएको वडा अध्यक्ष गुरुङको भनाई छ । यो वडाको कुुसुम भञ्ज्याङ सुन्तला बगानहरु भएको मुख्य क्षेत्र हो । कात्तिकको पहिलो सातादेखि माघ महिनासम्म यहाँका सुन्तला बिक्रि गर्न थालिन्छ । यहाँका सुन्तला स्याङ्जाकासाथै पोखरा बुटवललगायत देशका मुख्य शहरहरुमा पुग्ने गरेको वडा अध्यक्ष गुरुङको भनाई छ ।
योसँगै सुन्तला खेति विस्तारलाई पालिकाले प्राथमिकता दिएर लागेको उहाँले जानकारी दिनुभयो । गाउँमा सुन्तला फलाएर राम्रो आम्दानी हुने भएपछि कतिपय शहर पसेका युवाहरु फर्केर सुन्तलाखेतिमा लाग्न थालेका अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । योसँगै ८ नम्वर वडामा पनि राम्रो उत्पादन हुने गर्दछ । उहाँका अनुसार वडा नम्वर ८ का किसानहरुले पुसको तेस्रो सातासम्म बिक्रि गरिसकेका छन् भने ७ का किसानहरुको बगानबाट बिक्रि गर्ने क्रम चलिरहेको छ ।
यहाँका केशबहादुर गुरुङले आफ्नो बाबु सुन्तला बगानबाट ९ लाख २० हजार पारेका छन् । अहिले उनको बगानको सुन्तला व्यापारीले टिपेर बजार लाने क्रम चलिरहेको छ ।
यसैगरी जम्मा ९० बोटमा फलेको सुन्तला बिक्रि गरेर १ लाख ८० हजार पारेको यहाँका अर्का किसान रामप्रसाद गुरुङ बताउँछन् । खानका लागि खेतिपाती छँदैछ, यसबाट छोराछोरीको पढाई लेखाई गराएको छु खुसी छु । उनि भन्छन्—“अरु १ सय ५० बिरुवा लगाएको छु, अर्को सालदेखि फल दिन्छ । यसरी सुन्तलाको बोटमा पैसा फल्ने भएपछि कमाई गर्न गाउँ छाडेर कतै जानुपर्दैन । खान लाउन कुनै समस्या हुँदैन आनन्द छ ।”
आवस्यकताका आधारमा किटनाशक औषधी एवम् प्राविधिकहरुको परामर्श पनि उपलव्ध गराउँदै आएका छौं । योसँगै बिरुवा गाउँपालिका किसानहरुको अभिभावकको भूमिकामा रहेको वडा सचिव रनबहादुर गुरुङ बताउँनुहुन्छ ।
वडा नंवर ८ मा पनि सुन्तलाको उत्पादन राम्रो छ । यसरी वडा नम्वर ७ र ८ लाई बिरुवा गाउँपालिकाको सुन्तला पकेट क्षेत्रकारुपमा विकास गरिएको छ ।