पुस २९, वालिङ
पाल्पाको रामपुर नगर प्रमुख रमणबहादुर थापाले खानेपानी जनताको आधारभूत आवश्यकतासंँग जोडिएको संवेदनशिल विषय भएको बताउनु भएको छ । नगरपालिकाको वडा नम्वर ३ मा रहेको रजघरा खानेपानी तथा उपभोक्ता समितिको शनिबार आयोजित प्रथम साधारणसभामा बोल्दै नगर प्रमुख थापाले खानेपानी जनताको आधारभूत आवश्यकतासंँग जोडिएको संवेदनशिल विषय भएको बताउनु भएको हो ।
नगरबासीको लागि खानेपानीको आवश्यकतालाई परिपूर्ति गर्नका लागि नगरपालिका संधै प्रतिबद्ध भएर अगाडि बढि रहेको छ । सरकारको एक घर एक धारा नीति अनुसार नगर सरकार पनि सोही अनुरुप लागि रहेको उहाँको भनाई छ । नगर प्रमुख थापाले खानेपानी सम्बन्धी केही सरकारको नीति परिवर्तन गर्न आवश्यक रहेको औल्याउँनुभयो । उहाँले खानेपानी योजना सञ्चालन गर्दा उपभोक्ता स्वयमले खरिद गर्न नपाउने खानेपानी डिभिजन कार्यालयको प्रावधान ठिक नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “हरेक खानेपानी योजना सञ्चालन गर्दा स्वयम उपभोक्ताले विभिन्न सामान खरिद गर्न पाउनु पर्छ , कार्यालयले खरिद गर्दा त्यहीँ आर्थिक अनियमितताको आशंका हुन्छ ।” जनताको आवश्यकतासँंग सम्बन्धित कुनै पनि विषयमा राजनीति मिसाउन नहुने भन्दै उहाँले राजनीतिक खिचातानीका कारण नगरको विकासमा समेत अवरोध पुग्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष कपिल बहादुर खाँँणले खानेपानी जनताको आवश्यकता र स्वास्थ्यसंँग जोडिने भएकाले संवेदनशिल भएर लाग्न आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिकाले पहिले जनताको आवश्यकता हेर्ने र त्यस पश्चात सर्व पक्षीय सहमतिलाई हेरेर बजेटलाई प्राथमिकता दिएकोले खानेपानी उपभोक्ता समितिलाई पनि सोही आधारमा सहयोग गर्ने बताउनुभयो ।
साधारण सभा तथा अधिवेशनले हरि प्रसाद कंडेलको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति सर्व सम्मत गठन गरेको छ । जसको उपाध्यक्षमा प्रेम पोखरेल , सचिवमा खडक सिं ठकुरी (मदन), कोषाध्यक्षमा विष्णु बहादुर थापा ,र सदस्यहरुमा ईश्वरी पाण्डे , सलक कामी , पार्वती शाही , देउमाया विक र दीर्घनारायण चापागाँई रहेका छन् ।