माघ ३, वालिङ
स्याङ्जाका सुन्तला उपभोक्ताहरुको रोजाईमा पर्ने गर्दछ । किसानहरुले सुन्तला फलाएर वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।
यसैबीच वालिङ नगरपालिका वडा नम्वर २, सियाँलेका विशाल सुन्तला तथा कृषि फार्म सञ्चालक लोकनाथ ढुङ्गानाको रहर लाग्दो सुन्तला बगैंचाले भरलाग्दो आम्दानी दिइरहेको छ । अहिले सुन्तला बिक्रिबाट ढुङ्गानाले १३ लाख पारेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङ्जाले जिल्लामा गतवर्षको तुलनामा सुन्तला उत्पादनमा कमि आएको तथ्याङ्क निकालिरहेको अवस्थामा ढुङ्गानाले भने गतवर्षभन्दा ६ लाख बढि पारेका छन् । यो वर्ष उनको बगैचामा सुन्तला लोभलाग्दो गरी लटरम्म फलेका थिए । यतिसम्म कि बोटले धान्न नसकेर हाँगा नुहेर भुई छोएका थिए । गतवर्ष ७ लाख परेको थियो, अहिले निकै राम्रो फलेकाले झण्डै दोव्वर परेको ढुङ्गानाले बताए ।
ढुङ्गानाले २०७० सालदेखि व्यावसायिक सुन्तला खेति गर्दै आएका हुन् । अहिले उनको ३ सय बोटले फल दिएका छन् भने अरु २ सय बोट फलदिने तयारीमा छन् । सुन्तला खेती गर्नथाले देखि ३ छोरी र १ छोरा को पढाई लेखाईका लागि उनको परिवारलाई कुनै समस्या भएन । छोरीहरुको विवाह भैसकेको छ भने छोरा स्नातकमा अध्ययनरत छन् । सियाँलेको पाखोबारीले लोकनाथलाई पाको कृषकको पहिचान दिएको छ । श्रीमती हिरादेवीको साथमा सुन्तला बगैंचाको रेखदेखमा उनको दिनचर्या खुसीले व्यतित भैरहेको छ । मोडेल फार्मकारुपमा विकास गर्ने जिल्लाका १५ जना किसानमध्ये उनी पनि एक हुन् ।
पोखरा, दमौली, मुग्लिङ तथा नारायणगढका व्यापारीहरु उनको सुन्तला खरिद गर्न बगैंचामै आउने भएकाले बिक्रिको लागि समस्या छैन । सुरुदेखि नै उत्साहकासाथ काम गर्दै आएकाले कुनै दुःखको महसुस नभएको ढुङगाना बताउँछन् । अरुले गरेको देखेर पनि कतिपय पेशामा लाग्न सकिन्छ । छिमेकमा कसैले राम्रो कामको सुरु गरेको छ भने हामीले पनि अवलम्वन गर्न हुन्छ, सकिन्छ । यही मान्यता अनुरुप नजिकै सरदार भीमबहादुर पाँडेले १५ सय बोट सुन्तला लगाएको देखेपछि आँफूले पनि सुरु गरेको उनको भनाई छ । उनले भने—“आफ्नो नजिकै सरदार भीमबहादुर पाँडेले उतिबेला १५ सय बोट सुन्तला लगाएका थिए, त्यो देखेर मैले पनि सुरु गरेको हुँ । काम गर्दै आएँ, अहिले व्यावसायिक कृषककोरुपमा चिनिएको छु, खुसी लाग्छ । सरदार भीमबहादुरले भने लगाएर छोडे, छोराहरुले वास्ता गरेनन् त्यसै हराएर गयो । म भने उनको सिको गरेर व्यावसायी बनें । आँफूसँगै अरुले पनि लगाउन थालेपछि सियाँलेको पाखो सुन्तलामय भएको छ, रमाइलो लाग्छ ।”
सियाँलेमा उनीसँगै ७० घरधुरीले सुन्तला लगाएका छन् । कतिपयले आठ दशबोट लगाएका छन् त धेरैले व्यावसायिकरुपमा गरेका छन् । योसँगै यहाँ सबैको गरेर सुन्तलाबाट वार्षिक डेढ करोड भन्दा धेरैको कारोबार हुने गरेको ढुङ्गाना बताउँछन् ।