माघ १३, वालिङ
यही माघ १८ देखि २८ गतेसम्म स्याङ्जाको वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव हुँदैछ । महोत्सवमा नव प्रतिभालाई अवसर प्रदान गरिने सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभएको छ । आयोजक वालिङ उद्योग वाणिज्य संघका उपाध्यसमेत रहनुभएका अर्यालले आठौं संस्करणको महोत्सवमा डान्स आइडल सिजन थ्री आयोजना गरेर नव प्रतिभाशाली भाइबहिनीहरुलाई अवसर प्रदान गरिएको बताउनु भएको हो ।
सांस्कृतिक उपसमितिका संयोजक अर्यालका अनुसार जिल्लाका पाँचवटा नगरपाकिाका भाई बहिनीहरुको सहभागितामा डान्स आइडल सिजन थ्री प्रतियोगिता सञ्चालन गरिने छ । यसका लागि भीरकोट, पुतलीबजार, चापाकोट र गल्याङ नगरपालिकामा छनौट प्रकृया सम्पन्न भैसकेको छ भने वालिङमा आज शुक्रबार अडिसन राउण्ड सम्पन्न गरिएको छ । उद्योग वाणिज्य संघ रहेका पालिकाहरुबाट छनौट गरी प्रतियोगितामा सहभागी गराइने कार्यक्रम अनुसार अडिसन राउण्ड सञ्चालन गरिएको हो ।
योसँगै हाम्रो मनोभाव पवित्र हुनुपर्छ भनेर मन बचन र भावनालाई विशुद्ध पार्न लोक भजन प्रतियोगिता महोत्सवमा सञ्चालन गरिने सांस्कृतिक संयोजक अर्यालले उल्लेख गर्नुभयो । हाम्रो गाउँ समाजको मौलिक संस्कृति अन्तर्गत रत्यौली गीतलाई पनि प्रतियोगितात्मक कार्यक्रम मार्फत महोत्सवमा हेर्न पाइने उहाँले बताउनुभयो ।
सांस्कृतिक संयोजक अर्यालले भन्नुभयो—“लोक भजनगीत, नव प्रतिभाहरुको सहभागितामा हुने डान्स आइडल र रत्यौलीगीतका प्रतियोगितात्मक कार्यक्रम यस पटकको महोत्सवमा दैनिक अवलोकन गर्न सकिने छ । तीन वटै विधाका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यसरी विगतमा भन्दा भिन्न र नयाँ तरिकाले आठौं संस्करणको महोत्सव जनमानसका बीचमा राखिने जमर्को गरिएको छ ।” यसकासाथै बहुचर्चित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति दैनिकरुपमा रहने छन् भने तरकारी, फलफूललगायत स्थानीय उत्पादन प्रवद्र्धनलाई विशेष जोड दिइने उपाध्यक्ष अर्यालले बताउनुभयो ।