माघ १३ वालिङ ।
‘बर्थ डे पार्टी’को तडक भडक र खर्चिलो ‘सेलिब्रेसन’ छोडेर लियो क्लव अफ वालिङ सिटीका अध्यक्ष किशोर बस्यालले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिएका छन् । लायन वर्ष २०२३/२४ का अध्यक्ष बस्यालले आफ्नो २४ औँ जन्मदिनको अवसरमा वालिङ–९ भुम्रेका विपन्न तथा असहाय परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।बस्यालले भुम्रेका मानसिक रुपमा अस्वस्थ प्रविण सोमै र उनको ४ सदस्यीय परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।
‘३ वर्षको उमेरदेखि नै मानसिक रुपमा अस्वस्थ रहेका सोमै परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन नसकेको थाहा पाएपछि स्वास्थ्य बीमा गरिएको हो’बस्यालले भने–‘जन्मदिनको अवसरमा सानो भएपनि पुण्य काम गर्ने रहरले बीमा गरिदिएको हुँ ।’

जन्मदिनको अवसरमा गरिने खर्चलाई सामाजिक कार्यमा उपयोग गर्न सके असहायहरुको कल्याण हुने र वास्तविक पुण्य मिल्ने अध्यक्ष बस्यालले विश्वास व्यक्त गरे ।
सामाजिक सेवामा विभिन्न कार्यक्रम गर्दै आइरहेको लियो क्लव अफ वालिङले अध्यक्ष बस्यालको जन्मदिनको अवसरमा सोमै परिवारलाई न्यानो कपडा पनि हस्तान्तरण गरेको छ । सन् २०१९ मा वालिङमा स्थापना भएको लियो क्लव अफ वालिङ सिटीले स्वास्थ्य,शिक्षा,सचेतना लगायतका सामाजिक कार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा लायन्स क्लव अफ वालिङका अध्यक्ष विजय कोइराला,लियो क्लव अफ वालिङ सिटीका उपाध्यक्ष सन्जोक थापा, लियो क्लवकै सचिव राज भट्टराई तथा बीमा एजेन्ट सुस्मा रेग्मी र क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।

