माघ १९, वालिङ
पाल्पाको रामपुर नगरपालिकाले एकिकृत घुम्ति शिविर सुरु गरेको छ । जनताको आवश्यकता र सेवा सहजताका लागि नगरपालिकाले घुम्ति शिविर सुरु गरेको हो ।
नगरपालिकाले विहिबार वडा नं. १ को वडा कार्यालय भवनमा विभिन्न सेवा सहित घुम्ति शिविर सम्पन्न गरेको छ । शिविरमा आँखा ,कान ,दाँतसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ । यसैगरी कृषि तथा पशु सेवा , अपाङ्गता परीचय पत्र ,पञ्जिकरण, व्यवसाय दर्ता तथा नविकरण लगाएत नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा शिविरमा दिईएको थियो ।
देशमा संघीयता कार्यान्वयनमा आएसँंगै सिंहदरबारको अधिकार गाँउ गाँउमा भन्ने मूल नारालाई सार्थकता दिनका लागि नगरबासीको आवश्यकता र सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले जनतालाई आवश्यक सेवा जनताको घर घरमा दिनुपर्छ भन्ने उद्देश्यले नगरका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो –“सामान्य स्वस्थ्य जाँचका लागि पनि धेरै टाढा जानुपर्ने र अन्य सेवाका लागि नगरपालिकाको कार्यालय नै जानु पर्ने बाध्यतालाई बुझेर जनताको स्वस्थ्य र सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको हो ।” भूगोलका हिसाबले टाढा रहेको वडा नं. १ र २ लाई मध्येनजर गर्दै पहिलो चरणमा एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको र यस पश्चात वडा नं. ९ र १० मा पनि क्रमश शिविर संचालन गर्ने नगर प्रमुख थापाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले सीमित स्रोत र साधनका बीच सेवाग्राही नागरिकको सहज पहुँचका लागि शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँले शिविर मार्फत थप सेवासमेत प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
शिविर मार्फत १ सय ५३ जनाले पशु सेवा , १ सय २९ जनाले कृषि सेवा , १ सय ६२ जनाले आँखा परीक्षण, ६३ जनाले दन्त परीक्षण, १ सय ३९ जनाले स्वास्थ्य परीक्षण, १ जनाले अपाङ्गता परीचयपत्र, र ११ जनाले ज्येष्ठ नागरिक परीचय पत्र सेवा लिएको रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । शिविर मार्फत २ सय १९ जना सेवाग्राहीले सेवा लिएका छन् । यसकासाथै सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको रामपुर नगरपालिकाले अब वडा नं. ९ मा एकिकृत घुम्ति शिविर संचालन गर्ने जनाएको छ ।