माघ २४, वालिङ
वालिङ नगरपालिकाले आठौँ वालिङ महोत्सवमा व्यापार व्यवसाय गरिरहेका व्यापारीहरुसंँग चियापान तथा अन्तरक्रिया गरेको छ । यही माघ १८ गतेबाट शुरु भएको आठौँ महोत्सवको आयोजकको रुपमा रहेको नगरपालिकाले बुधबार महोत्सव स्थलमै पुगेर चियापान तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा नगरप्रमुख कृष्ण खांँणले वालिङ नगरपालिका पनि महोत्सवको आयोजक रहेको भन्दै महोत्सव सफल बनाउन नगरपालिका तथा सिंगो वालिङ लागिपरेको बताउनुभयो ।
बाहिर आएका हल्ला अनावश्यक रहेको भन्दै महोत्सवले वालिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको छ । बाहिरबाट आउनुभएका व्यावसायीलाई स्वागत गर्दै नगरपालिका साथमा रहेको प्रमुख खांणले बताउनुभयो । नगरप्रमुख खांणले भन्नुभयो,“बाहिर आएका हल्लाको कुनै तुक छैन् । वालिङ महोत्सव हामी सबैको पर्व तथा साझा मञ्च हो । महोत्सवलाई सफल पार्न यहाँको स्थानीय सरकारसहित आम सर्वसाधारण उत्तिकै लागिरहनुभएको देखिएको छ । महोत्सवको सातौँ दिनआईपुग्दा जनसहभागिता बढ्दो छ । महोत्सवले विगतदेखि वालिङको पहिचान बनाउन टेवा पु¥याउँदै आएको छ ।”
कार्यक्रममा निवर्तमान नगरप्रमुख दिलिपप्रताप खांँणले महोत्सव सफलतातर्फ उन्मुख भएको भन्दै महोत्सवमा सुरक्षा व्यवस्थालाई विषेश ध्यान दिन आग्रह गर्नुभयो । निवर्तमान नगरप्रमुख खांणले भन्नुभयो,“महोत्सवलाई व्यवस्थित गर्न सुरक्षा महत्वपूर्ण पक्ष हो । धेरै जनसागर सहभागी हुने कार्यक्रममा सुरक्षा बलियो बनाउनुपर्छ ।”
साथै कुनै पनि कदम चाल्दा तथा कुनै कार्य सम्पन्न गर्दा सकारात्मक र नकारात्मक कुराहरु दुवै आउने भन्दै त्यस्ता पक्षलाई समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा महोत्सवमा व्यापार गर्दै आएका व्यापारीहरुले मौसम प्रतिकुलताका कारण महोत्सव उद्घाटन र भोलीपल्ट व्यापार नभएको गुनासो गर्दै थप दुई दिन महोत्सव लम्ब्याउन आग्रह गरेका छन् ।