माघ २७, वालिङ
स्याङ्जाको वालिङमा जारी आठौं संस्करणको महोत्सवमा जनसागर उर्लिएको छ ।
वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्वारा आयोजित आठौं वालिङ महोत्सव २०८० यही माघ १८ गतेदेखि खेलमैदानमा सञ्चालन भएको महोत्सवको दशौंदिन शनिबार ऐतिहासिकरुपमा जनसागर उर्लिएको हो ।
हुने बिरुवाको चिल्लो पात भनेझैं सुरुका दिनदेखि नै दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहँदै आएको थियो । दशौंदिन उर्लिएको जनसागरले त वालिङ महोत्सवको आवस्यकता र औचित्य नै पुष्टी गराएको छ । वालिङ बजारका गल्ली गल्लीसम्म पनि मानिसहरुको दिनभर घुईंचो रहेको थियो । कतिपयले भीड छिचोल्न नसकेर त कतिपयले टीकट काट्न नसकेर फर्किएकासम्म देखिए ।
आइतबार समापन गरिने महोत्सवको दशौंदिनको यो जनसागरले वालिङमा महोत्सवको आयोजनालाई निरन्तरता दिन अनुमोदन गरेका स्पष्ट गराएको छ । यसकासाथै २०६३ सालदेखि प्रत्येक दुईवर्षको अन्तरालमा महोत्सव अवलोकन गर्दै आएका आम नागरिकहरुले अहिले पाँचवर्षपछि यो अवसर पाएका हुन् । महोत्सवप्रति आम नागरिकको अभिरुचि कति रहेछ भन्ने उनिहरुको उपस्थितिले देखाएको छ ।
स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति आठौं संस्करणको महोत्सवका आकर्षणहरु हुन् ।
शनिबार पनि स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा चर्चित कलाकारहरुको प्रस्तुति रहेको थियो । राष्ट्रिय कलाकारहरुमा रामजी खांँण, शिव हमाल, राजु गुरुङ दुर्गेश थापा, अर्जुन गैह्रे, नेत्र खड्का, पार्बती गुरुङ, पप आधुनिक गायक रबि रिमालको साङ्गितिक प्रस्तुतिले जनसागरलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । यसकासाथै पछिल्लो समयकी चर्चित मोडल तथा डान्सर अस्मिता रनपाल र सन्तोश बस्यालको नृत्य एवम् हास्य कलाकार दिनेश काफ्m्लेले दर्शकदीर्घालाई हुटिङसहित थप मनोरञ्जित बनाएको थियो । साँझ लक्ष्य व्याण्ड पोखराको साङ्गीतिक प्रस्तुतिले बाक्लो उपस्थितिमा रहेका युवा समूहलाई तताएको थियो ।
आइतबार समापनका दिनको आकर्षणमा शिव हमाल, सम्झना लामिछाने मगर, कृष्ण अखेली, सबिना गुरुङ, शिवहरि ढुङ्गाना, मदन परियार, राम तिवारीको साथमा डान्सर सगुन थापाको प्रस्तुति रहने प्रचार प्रसार एवम् कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो ।