Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय लोक–संस्कृति पुरस्कार डा. खनाललाई

राष्ट्रिय लोक–संस्कृति पुरस्कार डा. खनाललाई

  • PNN Times
  • सोमवार, माघ २९ २०८०


  • राष्ट्रिय लोक–संस्कृति पुरस्कार डा. खनाललाई

    माघ २९, वालिङ
          राष्ट्रिय लोकसंस्कृति पुरस्कार साहित्यकार एवम् संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ ।
    ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले “साबित्री–कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८०” डा. खनाललाई प्रदान गर्ने भएको हो । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्वर ८ मोहन डाँडाका डा. खनाल पछिल्लो समय कास्कीको पोखरालाई कर्मक्षेत्र बनाउदै आएका छन् । 
    कैलाली जनपुस्तकालय धनगढीको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा डा. खनाललाई  साबित्री– कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० बाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
    पुस्तकालयको ६७ औ वार्षिकोत्सवका अवसरमा आगामी फागुन सात गते आयोजना हुने समारोहमा सो पुरस्कारबाट डा.खनाललाई सम्मानित गरिने कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले जानकारी दिनुभएको छ ।
         समाजसेवी साबित्री साहू र उहाँका पति कमलसिंह साहूद्वारा अक्षयकोष स्थापना गरिएको र सोही अक्षयकोषबाट उक्त पुरस्कारकोसमेत स्थापना गरेका हुन् । उपकुलपति जोशीका अनुसार नगदसहित दोसल्ला र अभिनन्दनपत्रले डा. खनाललाई सम्मान गरिने छ ।
          लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित गरिदै आएको अध्यक्ष डा.जोशीले बताउनुभयो । पुरस्कृत हुने प्रतिभा डा. खनालले लोकगीतमा विद्यावारिधि गर्नुका साथै लोकसंस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा लामो समयदेखि विशेष योगदान पु¥याउदै आएका छन् । उनले नेपालका सय भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक अभिलेख तयार गरेका छन् । डा. खनालले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड तथा विभिन्न स्थानीय तहहरूसङ्गको सहकार्यमा अनुसन्धानको काम गरिरहेका छन् । यसका साथै स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उनको निरन्तर सक्रियता रही आएको छ ।

    सोमवार, माघ २९ २०८००५:१०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend