असोज २८, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५ / ७६ को सार्वजनिक सुनुवाई गर्ने भएको हो । यही असोज ३० गते शुक्रबार सार्वजनिक सुनुवाई गर्न लागेको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पौडेलले जानकारी दिनु भयो । उहाँले कोभिड १९ कोरोना भाइरसको कारण सिमित नागरीकहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरी सार्वजनिक सुनुवाई गर्ने बताउनु भयो ।
पालिकाले गाउँपालिकाबासीहरु समक्ष पुर्याएको सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा नागरीकको प्रतिक्रिया तथा गुनासाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गर्न लागेको पैयूँ गाउँपालिका अध्इक्ष खगेन्द्र प्रसाद तिवारीले जानकारी दिनु भयो ।
अध्यक्ष तिवारीले कार्यक्रमकाबाट जनगुनासाहरु सुन्ने, नागरीकको समस्या माथि छलफल गर्ने, पालिकाले अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी दिने र आगामी दिनहरुमा पालिकाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव लिई विकासलाई अगाडी बढाउने बताउनु भयो ।
सार्वजनिक सुनुवाई किन गरीन्छ ?
स्थानीय निकाय र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न र संवादबाट जनतालाई देश विकासको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शिताको माध्यमद्वारा स्थानीय निकायको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाई जिम्मेवारीको संस्कार बसाउन सार्वजनिक सुनुवाइ कार्यक्रम गरिन्छ ।
स्थानीय निकायबाट उपलब्ध सेवा वस्तु र सुविधाका सम्बन्धमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्ने एवं दोहोरो संम्वादबाट सेवा प्रदायक र सेवाग्राही बीचको दुरी कम गरी जिम्मेवार संस्कार बसाउन र सेवा र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने मूल मर्मका साथ हरेक स्थानिय तहले सार्वजनिक सुनुवाई गर्दछन ।
एक आर्थिक वर्षमा सम्पादन गरेका कार्यहरुको सार्वजनिक सुनुवाई वर्षको कम्तिमा तीनपटक गर्ने व्यवस्था छ । स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन नियमावली २०५६ तथा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ ले स्थानीय निकायको सञ्चालनप्रक्रिया तथा अपनाउनु पर्ने सुशासनको प्रत्याभूतिको लागि गर्नुपर्ने कार्यक्रमहरुको पनि स्पष्ट व्यवस्था गरेको छ । तीनै व्यवस्थाहरु मध्ये सार्वजनिकसुनुवाई कार्यक्रम पनि एक हो ।