फागुन ९, वालिङ
स्याङ्जाको चापाकोटमा जारी दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० मा दर्शकहरुको घुईंचो लाग्ने गरेकोे छ ।
“हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नारासहित चापाकोट उद्योग वाणिज्य संघले यही फागुन ३ गतेदेखि सञ्चालन गरेको महोत्सवमा दैनिकरुपमा दर्शकहरुको घुईंचो लाग्ने गरेको हो । २०७५ सालमा पहिलो महोत्सव सञ्चालन गरेको संघले अहिले दोस्रो संस्करणको महोत्सव आयोजना गरेको हो । दैनिकरुपमा दर्शकहरुको उत्साहजनक उपस्थितिले महोत्सव सफल उन्मुख देखिएको छ ।
स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सूचना प्रविधी, पुस्तक प्रदर्शनी, बाल उद्यान तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।
मेलामा रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल, वक्तृत्वकलालगायत प्रतियोगितात्मक कार्यक्रम समेटिएका छन् । दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले महोत्सवमा दर्शकहरुलाई थप आकर्षित गरेको छ ।
महोत्सवको सातौंदिन दिन बुधबार राष्ट्रिय कलाकारहरु कृष्ण सुवेदी, शिवहरि ढुङ्गाना, पार्वती गुरुङ, अनु राना, रोशन विसी, जगत गौडेलले दर्शकहरुलाई रमाइलो गराएका थिए । यसैगरी सुगम सङ्गीतका चिरपरिचत रुपक डोटेलको प्रस्तुतिमा दर्शकहरु नाच्नुकासाथै झुमेका थिए ।
यस्तै भोलि बिहिबारको आकर्षणमा राष्ट्रिय कलाकारहरुमा पछिल्लो समयकि चर्चित गायिका रचना रिमालकोसाथमा शिव हमाल, गोपाल जिटी, रोशन गैरे, पार्वती गुरुङ, शान्ता बर्देवा, जगत गौंडेललगायतका प्रस्तति रहने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
यसैबीच महोत्सवमा आयोजित खुला भलिबल प्रतियोगिता अर्को आकर्षण रहेको छ । चापाकोटमै पहिलो पटक राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताले दर्शकहरुलाई तानेको छ । महोत्सवका अवसरमा स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० को आयोजना गरिएको हो ।
चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै एक होनहार भलिबल खेलाडी थिए । गण्डकी र लुम्विनी प्रदेशका सात जिल्लाका सात टीमको सहभागिता रहेको छ ।