गोपाल जिटी
फागुन १९, वालिङ
स्याङ्जाको चापाकोटमा साना किसान कृषि सहकारी संस्थाले किसानहरुलाई मकैको बीउ वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जासँगको समन्वयमा कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानहरुलाई मकैको बीउ शुक्रबार वितरण गरेको हो । सहकारीले मनकामना, अरुण २, रामपुर कम्पोजिट जातको बीउ ७५ प्रतिशत अनुदानमा किसानहरुलाई उपलव्ध गराएको छ ।
२ हजार २ सय जना शेयर सदस्य रहेको सहकारीले उनिहरुको मागको आधारमा मकैको बीउ उपलव्ध गराइएको संस्थाका अध्यक्ष राजु कोइरालाले जानकारी दिनुभयो । अहिले ६ हजार किलो मकैको बीउ अनुदानमा वितरण गरिने संस्थाका अध्यक्ष कोइरालाले बताउनुभयो । चापाकोट क्षेत्रको उर्वर भूमि र किसानहरुको सक्रीयतालाई मध्यनजर गरेर उन्नत बीउ बिजनसँगै बीमाको समेत सहकारीले सहजिकरण गर्दै आएको छ । स्थानीय उत्पादनमा वृद्धिसँगै कृषक उत्थानमा टेवा पुगोस भनेर विगतका वर्षदेखि काम गर्दै आएको र किसानहरु पनि लाभान्वित हुदै आएको अध्यक्ष कोइरालाले बताउनुभयो । १० नम्वर वडामा मात्रै करिव ४ सय जना किसानहरुलाई बीउ वितरण गरिने छ । यसकासाथै समग्र पालिकाभरि गरेर १ हजार ६ सय घरधुरी अनुदानको बीउबाट लाभान्वित हुने अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार यस अघि कात्तिक महिनामा सहकारीले आलुको बीउ वितरण गरेको थियो । करिव ४ सय बोरा आलुको बीउ यहाँका १ सय ७१ जना किसानहरुले लगाएका छन् । सकेसम्म किसानहरुले आँफै विक्री गर्नुहुन्छ, बाँकी रहेमा वा विक्री गर्न समस्या भएमा संस्थाले बजारीकरणका लागि सहजिकरण गरिदिने अध्यक्ष कोइरालाले बताउनुभयो ।
यसकासाथै संस्थाले किसानहरुलाई व्यावसायी बनाउनका लागि उत्प्रेरित गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । भैंसी, बाख्रा र बङ्गुर पशुबीमा गराउँदै आएको छ भने नगदेबालीमा तरकारीलाई लिइएको छ । कर्जा दिंदा नै बीमा गराइने छ भने बिना सेवा शुल्क कर्जा प्रदान गरिदै आएको अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो ।
सहकारी संस्थाले बीउ विजनका साथै बीमाकोसमेत सहजीकरण गरिदिदा किसानहरुलाई धेरै सहज गराएको यहाँका कृषक प्रेमनारायण पङ्गेनी बताउँनुहुन्छ । पङ्गेनीले आलु पनि राम्रैसँग लगाएका छन् । ३० क्वीण्टल बीउ लगाएकोमा ५ सय क्वीण्टल फल्ने उहाँको अनुमान छ । उमेरले ६४ पुगें, काम गर्ने जाँगर छ, बुढ्यौलीको अनुभूति छैन । जीवनको अर्थ कर्म हो, कर्मयोग गर्नुपर्छ, कर्मयोगमा लाग्नुपर्छ, रमाउनुपर्छ पङ्गेनीले भन्नुभयो, मकैको बीउ पनि ३० किलो लगेर लगाउँदैछु ।