फागुन २३, वालिङ
सुन्तला पकेट क्षेत्र विस्तारमा बिरुवा गाउँपालिकाले जोड दिएको छ । ८ वटा वडा रहेको स्याङ्जाको बिरुवा गाउँपालिकाले वडा नम्वर ७ र ८ मा सुन्तला पकेट क्षेत्र विस्तारमा जोड दिएर लागेको हो । यी दुइ वडामा पहिलादेखि नै सुन्तला खेति हुँदै आएका वडा हुन् । यहाँको माटो र किसानहरुको अभिरुचीलाई मध्येनजर गरेर गाउँपालिकाले सुन्तला पकेट क्षेत्रकारुपमा विकास गर्न योजना बनाएर लागेको हो । यहाँको माटो र किसानहरुको अभिरुचीलाई मध्येनजर गरेर गाउँपालिकाले सुन्तला पकेट क्षेत्रकारुपमा विकास गर्न योजना बनाएर लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवँरले जानकारी दिनुभएको छ ।
अध्यक्ष कुँवरका अनुसार वडा नम्वर ७ र ८ लाई सुन्तला पकेट क्षेत्रकारुपमा अगाडि बढाएइएको हो । यी दुइ वडाहरुमा सुन्तला लगाउने धेरै कृषकहरु छन् र त्यहाँको माटोमा सुन्तला उत्पादन पनि सन्तोष जनकरुपमा भैहेको छ । चालु आर्थिक वर्षमा पनि पालिकाको तर्फबाट साढे दश हजार सुन्तलाको बिरुवा बितरण गरिएको छ । यसकासाथै सुन्तलालाई गोडमेल गर्ने अवस्थामा निलोतुथो जस्ता सामाग्रीहरु वितरण छ भने अहिले सुन्तला गोडमेल गर्ने बेला भएको छ, २ हजार ६ सय किलो निलोतुथो उपलव्ध गराइएको अध्यक्ष कुँवरले भन्नुभयो—५० प्रतिशत अनुदानमा निलोतुथो उपलव्ध गराएका हौं । त्यस्तै गरेर बोट काँटछाट गर्नका निम्ति आरी, कैंची जस्ता औजारहरु वितरण गरिएको छ । कृषि शाखाले बगान तथा नर्सरीको अनुगमन गर्ने र रोग किराको प्रकोपबाट जोगाउन आवस्यक सुझाव सल्लाह दिने काम निरन्तररुपमा अगाडि बढिरहेको अवस्था छ । गत आर्थिक वर्षमा ४० वटा हाते टे«क्टर, घाँस काट्ने औजार र कम्वाइन मिल वितरण गरेका छौं । सुन्तलासँगै कृषि क्षेत्रमा तरकारीबालीका कृषकहरुलाई प्रोत्साहनका कार्यक्रममा सामेल गराइएको छ । यसैगरी धानबाली, आलुखेतिको लागि भनेर मौसम अनुसारका बिउविजन वितरण गरिएको छ । योसँगै बिरुवा गाउँपालिकाका नागरिकहरुले फलफूल तथा तरकारी निर्यात गर्न थालेका छन भने अन्नबालीमा आत्मनिर्भर हुँदै आएका छन् । फलफूलमा बिरुवा गाउँपालिकाबाट निर्यात हुनेमा सुन्तला नै हो । वार्षिक ७ करोड भन्दा धेरैको सुन्तला बिरुवा गाउँपालिकाका किसानहरुले निर्यात गर्न सफल छन् ।
बिरुवा नर्सरीका लागि गाउँपालिकाले लगानी गरेर किसानहरुलाई बिरुवा उत्पादनमा सहयोग गरेको छ । यो वर्ष पनि एक वडा एक नर्सरी कार्यक्रम अगाडि बढाइएको छ । सुन्तलाको निम्ति वडा नम्वर ७ र ८ मा तीनवटा नर्सरी स्थापनागरी वितरण गर्दै आएको अध्यक्ष कुँवरले बताउनुहुन्छ । बाहिरबाट ल्याएका बिरुवाहरुमा विभिन्न प्रकृतिका रोगहरु देखिन थाले, त्यसैलै नर्सरी स्थापना गरेर स्वस्थ बिरुवा उत्पादनमा जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।