फागुन २५, वालिङ
स्याङ्जाको वालिङमा महिलाहरुलाई सम्मान गरिएको छ । “समानताका लागि एकता” भन्ने मूल नारासहित ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वालिङ जेसीजले शुक्रबार महिलाहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैह«े, शिक्षा शाखा अधिकृत गीता पाठक, अग्रज प्रेमकुमारी रेग्मी लगायतका महिलाहरु सम्मानित भएका हुन् ।
कार्यक्रममा सम्वोधन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले प्रकृतिले मानिसलाई कुनै भेदभाव नगरेको बताउनुभयो । प्रकृतिले महिला पुरुष केही नभनेको उल्लेख गर्दै गण्डकी प्रदेश साँसद तिवारीले यो त सामाजिक रीतिरिवाजले छुट्याएको बताउनु भयो । महिला र पुरुषको आ आफ्नै भूमिका हुन्छ तर भेदभाव र हेला होचो गर्ने अधिकार नभएको उहाँको भनाई छ । राजनीतिक परिवर्तनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको उहाँले औंल्याउनुभयो । महिला अधिकारका सन्दर्भमा संविधानमा उल्लेख गरिए पनि व्यवहारमा उतार्न सकिएको छैन । यसका लागि हामी महिलाहरुले पनि पुरुष समान अधिकारका लागि क्षमता वृद्धिसँगै लाग्नुपर्ने गण्डकी प्रदेश साँसद तिवारीले बताउनुभयो । नेपाली इतिहासमा समाज परिवर्तनका लागि अग्रज महिलाहरुको योगदानको कदर गर्दै अगाडि बढ्नुपर्ने उहाँले व्यक्त गर्नुभयो ।
यसैगरी वालिङ नगर उप प्रमुख कविता तिवारी गैह«ेले महिलाहरुले आँफूमाथि हुने हिंसा खुलेर राख्नुपर्नेमा जोड दिनुभयो । घरभित्र वा बाहिर हुने नारी हिंसालाई खुलेर राख्ने गर्नुपर्ने भन्दै उप प्रमुख गैह«ेले आफ्नो अधिकारसँगै नारी हिंसामुक्त हुन सकिने उहाँले औंल्याउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिला सशक्तिकरण गर्न सक्यौं भने आरक्षणको आवस्यकता नपर्ने बताउनुभयो । पहिला हामी सशक्तिकरणमा लाग्नुपर्छ ताकि उनिहरु आफै प्रतिस्पर्धामा उत्रिन सकून् । त्यसैले क्षमता वृद्धिसँगै सशक्तिकरणलाई जोड दिनुपर्ने उहाँको तर्क छ ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सहयोगमा वालिङ जेसीजले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलाहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको हो ।