Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फोहोरमैला व्यवस्थापनको लागि स्याङ्जाका स्थानीय तहहरुको संयुक्त अन्तरक्रिया

फोहोरमैला व्यवस्थापनको लागि स्याङ्जाका स्थानीय तहहरुको संयुक्त अन्तरक्रिया

  • मोहन सुनार
  • बिहिवार, चैत्र १ २०८०


  • फोहोरमैला व्यवस्थापनको लागि स्याङ्जाका स्थानीय तहहरुको संयुक्त अन्तरक्रिया

    फागुन ३०, वालिङ ।
    फोहोरमैला व्यवस्थापन सबै स्थानीय तहहरुको लागि चिन्ताको विषय बनिरहेका बेला स्याङ्जाका स्थानीय तहहरु भने फोहोरमैला व्यवस्थापनको लागि एकजुट भएका छन् । फोहोरमैला व्यवस्थापन गर्दै आम्दानीको रुपमा विकास गर्ने हेतुले जिल्लाका स्थानीय तहहरुले पारस्परिक  अन्तरक्रिया गरेका छन् ।बुधबार वालिङ नगरपालिकाको आयोजनामा जिल्लाका स्थानीय तहका प्रमुखहरु,जिल्लाका प्रशासन,सुरक्षा तथा समन्वयका प्रमुखहरुको बीचमा पारस्परिक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
    वालिङ नगरपालिका वडा नं.४ मा रहेको सुन्तलाबारी होमस्टेमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पालिकाका प्रमुखहरु फोहोरमैला व्यवस्थापनको लागि आधुनिक र जिल्लाको भूगोल सुहाउँदो प्रविधिको प्रयोग गर्दै फोहोरमैला व्यवस्थापन गर्न सहमत भएका हुन् । 
    अन्तरक्रिया कार्यक्रममा फोहोरमैला व्यवस्थापन समस्याको रुपमा देखिरहेका बेला त्यसको व्यवस्थापन गर्दै आम्दानीको रुपमा विकास गर्न सकिने प्रविधिको बारेमा छलफल गर्नको लागि कार्यक्रम आयोजना गरिएको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।उहाँले कुनै एउटा स्थानीय तहले मात्र प्रविधिको प्रयोग गर्न आर्थिक भार वहन गर्न नसक्ने उल्लेख गर्दै सबै पालिकाहरु एक आपसमा मिलेर व्यवस्थापनको कार्य गर्न सकिने उल्लेख गर्नुभयो ।
    फोहोरलाई मोहरको रुपमा विकास गर्न वालिङ नगरपालिकाले प्रयासस्वरुप सफल भैसकेको उल्लेख गर्दै अन्य पालिकाहरुको सहकार्यमा अझ ठूलो मात्रामा काम गर्न र पर्यावरणीय संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका केन्द्रीय महासचिव खिम बहादुर थापाले जिल्लाका पालिकाहरुको भौगोलिक दुरी र अवस्थालाई हेरेर भूगोल सुहाउँदो प्रविधिको प्रयोग गर्न सुझाव दिनुभयो ।
    यसैगरी आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले आर्थिक व्यवस्थापन हुन सके फोहोरमैला व्यवस्थापन सहज हुन सक्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहहरुको आफ्नै आन्तरिक आयस्रोत नहुँदा वित्तिय अभावमा चाहेअनुसारको काम गर्न नसकिएको जानकारी दिनुभयो । अन्तरक्रियामा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले सबै पालिकाहरुले आपसी समन्वयका साथ काम गर्न सके जिल्लालाई देशमै फरक जिल्लाको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
    त्यस्तै बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरले पालिकागत रुपमा उत्पादिन फोहोरमैलालाई वैकल्पिक उर्जाको रुपमा विकास गर्न सकिनेगरी व्यवस्थापन गर्न सुझाव दिनुभयो ।जिल्ला समन्वय समिति स्याङ्जाका सभापति श्रीप्रसाद जिटीले पालिकाहरुले पारस्परिक सहकार्यमा फोहोरमैला व्यवस्थापन तथा अन्य काम पनि सहज तरिकाले गर्न सकिने उल्लेख गर्नुभयो ।
    कार्र्यक्रममा पालिकाहरुका असल अभ्यासहरु पनि आदान प्रदान गरिएको थियो । नागरिकको समृद्धि र आन्तरिक आयस्रोत वृद्धिमा पालिकाका प्रमुखहरुले नविनतम कार्यको थालनी आवश्यक रहेको बताएका छन् ।

    बिहिवार, चैत्र १ २०८००७:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend