चैत्र ५,वालिङ ।
भीरकोट नगरपालिका,स्याङ्जाका नगरप्रमुख गोन्विन्द कर्माचार्यले विकासका काममा एकता अपरिहार्य रहेको बताउनुभएको छ । भीरकोट–८,मा रहेको ढापुक कालिका देवी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गर्दै नगरप्रमुख कर्माचार्यले एकताको माध्यमबाट मात्रै समृद्धि आउन सक्ने उल्लेख गर्नुभयो ।
‘गाउँलेहरुले मिलेर,सहयोग सङ्कलन गरेर यो मन्दिरको निर्माण सम्पन्न गर्नुभयो,यसमा एकता नै प्रमुख कारण हो ।यसरी नै मिलेर गाउँमा अझै धेरै विकास गर्नुपर्छ’ नगरप्रमुख कर्माचार्यले भन्नुभयो–‘समृद्धिको यात्रा सफल बनाउन एकता नै मुख्य कडी हो ।’

नगरप्रमुख कर्माचार्यले आपसी भाइचारा र सामाजिक अस्तित्वलाई ग्रहण गरेर काम गर्न सकेमात्र विकास संभाव हुने विचार व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयको देशको राजनीतिप्रति इङ्गित गर्दै गलत र अस्वच्छ प्रतिस्पर्धाले नागरिकले दुखमात्र पाउने बताउनुभयो । माथिल्लो तहमा राजनैतिक खिचातानी भैरहँदा स्थानीय तहले काम गर्न नपाएकोमा कर्माचार्यले गुनासो गर्नुभयो ।‘हामीसँग यथेष्ट बजेट नहुँदा विकास र निर्माणका काममा खर्च गर्नसक्ने अवस्था छैन’ कर्माचार्यले भन्नुभयो–‘टुक्रे योजनाहरु र मसिना कामहरुमा मात्र रकम खर्च गर्नुपर्ने बाध्यताले हामीले योजनाअनुसारको काम गर्न सकिरहेका छैनौँ ।’

उहाँले नगरका योजनाहरु कार्यान्वयनमा भीरकोटबासीहरुले दिएको साथको प्रशंसा गर्दै जनश्रमदान र सहयोगले नगरका धेरै आयोजनाहरु सफल भएको उल्लेख गर्नुभयो ।सहयोग सङ्कलन र नगरपालिकाले दिएको रकमसहित करिब २१ लाखमा निर्माण सम्पन्न भएको मन्दिरको सोमबार उद्घाटन तथा विधिवत् पुजा गरिएको हो ।