चैत ६, वालिङ
स्याङ्जाको चापाकोटमा आगलागी हुँदा बाख्रा र कुखुरा जलेर नोक्सानी भएको छ । चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित सिम बस्ने होमबहादुर आलेको बाख्राको खोरमा आगलागी हुँदा बाख्रा र कुखुरा जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार मङ्गलबार विहान साढे सात बजेको समयमा विद्युत सर्ट भई आलेको बाख्राको खोरमा आगलागी भएको थियो । आगलागीबाट खोरमा रहेका १६ वटा बाख्रा र सोही खोरको अर्को कोठामा रहेको ५० वटा कुखुरा जली मरेका हुन् । अन्दाजी रु. २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र थप क्षतिहुनबाट बचाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी गराउनु भएको छ ।