चैत ७, वालिङ
स्याङ्जाको वालिङमा रहेको देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको अध्यक्षमा १ जना र सदस्यहरुमा ११ जनाले उम्मेदवारी दिएका छन् । क्याम्पसको विधान अनुसार १ अध्यक्ष र १० जना सदस्य सञ्चालक समिति रहने व्यवस्था छ । क्याम्पसको १३औँ अविधेशनबाट अध्यक्ष सहित १० जना सदस्य र १ जना लेखा सुपरिवेक्षण तथा नियन्त्रण समिति संयोजक निर्वाचित हुनेछन् । नयाँ सञ्चालक समिति गठनका लागि बनाईएको निर्वाचन समितिले बुधबार उम्मेदवारी दर्ताको समय दिएको थियो । सोहि समय अनुसार अध्यक्षमा उदय श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ ।
त्यस्तै सदस्यहरुमा आनन्दप्रसाद पाठक, केदार काफ्ले, दिलिपकुमार बगाले, नेत्रप्रसाद पाण्डे, पदमप्रसाद पाण्डे, पुण्यप्रसाद अर्याल, पूर्णबहादुर थापा, भोजराज गुरुङ, रुक्मागत पौडेल, सुरेशप्रसाद गैह्रे, हेमप्रसाद गैह्रेको उम्मेदवारी परेको छ । त्यस्तै लेखा सुपरिवेक्षण तथा नियन्त्रण समितिको संयोजकमा अर्जुनप्रसाद खनालको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
अध्यक्षमा एक जना मात्रै उम्मेद्वारी परेपनि सदस्यमा एक जना बढी ११ जनाले उम्मेदवारी दर्ता गराएकाले सहमति हुन्छ कि निर्वाचन हुन्छ भन्ने विषयमा अन्तिम नामावाली प्रकाशनसम्मको समयले निर्धारण गर्नेछ । निर्वाचन समितिले बिहिबार विहान १० देखि १२ बजेसम्म उम्मेदवारी विरुद्ध दावीविरोध, मध्यान्ह १२ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता र साँभm ५ बजे अन्तिम नामावली प्रकाशनको समय तोकेको छ ।