चैत ९, वालिङ
स्याङ्जाको वालिङमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रथम वालिङ नगर अधिवेशन सम्पन्न भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघसंघको शुक्रबार प्रथम अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनबाट टोपप्रसाद गुरुङको अध्यक्षतामा महासंघको वालिङ नगर कमिटी गठन भएको छ । वालिङमा आयोजित संघको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २८ सदस्यीय नगर कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा खिमकुमारी थापा, सचिव ताराबहादुर गाहा, उपसचिव प्रेमबहादुर कुमाल र हुमति गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा नरबहादुर गुरुङ रहनुभएको छ । अरु २२ जना सदस्य चयन भएका छन् ।
कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव हुमबहादुर गुरुङले संघको गठनले आदिवासी समुदायको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यो नेकपा एमालेको जनवर्गीय संगठन हो र जनवर्गीय संयठन बलियो हुनु आजको आवस्यकता रहेको सचिव गुरुङले बताउनुभयो । संघको बारेमा हिजो बुझाईको समस्याले सांगठनिकरुपमा अगाडि बढ्न नसकेको केन्द्रीय सचिव गुरुङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो—“ हिजो आदिवासी जनजातिको बारेमा बुझाईको कमि थियो, त्यसैले अगाडि बढ्न सकिएको थिएन । नेपालमा ५९ आदिवासी जनजाति छन् । यसमध्ये ५३ वटा जातिका आ—आफ्ना संगठन निर्माण भैसकेका छन् । जसले गर्दा आदिवासी जनजातिहरुलाई संगठितरुपमा काम गदै नेतृत्व विकासमा भूमिका खेल्दै आएको छ ।” आदिवाससी जनजाति भनेको लामो इतिहास भएको, संस्कार र संस्कृति रहेको र हामी भन्ने भावनाले ओतप्रोत भएको जाति हो । सामुहिकतामा एकता भएर बस्ने, समाज चाहिन्छ भन्ने आदिवासीको मौलिक परम्परा रहेको सचिव गुरुङले बताउनुभयो । यिनै भावनालाई सम्वोधन गरेर नेकपा एमालेले सांगठनिकरुपमा अगाडि बढाउने उद्देश्यले यसरी पालिकास्तरमा संगठन विस्तार गर्दै आएको उहाँको भनाई छ ।
कार्यक्रममा सम्वोधन गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले नेपालको सम्विधानमा उल्लेख गरेको आदिवासी जनजातिको हक अधिकारको अंगिकार गर्न यो संगठन विस्तारले भूमिका खेल्ने बताउनुभयो । यी र यस्ता संगठनले पार्टीलाई पनि बलियो बनाउने नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । जनसंगठन बलियो हुनु भनेको पार्टीको मिसन ८४ को सफलतामा बल पुग्नु रहेको उहाँको भनाई छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ स्याङ्जाले पालिकास्तरीय अधिवेशन गरेको हो । संघको पालिकास्तरीय अधिवेशन अन्तर्गत योसँगै दशवटा पालिकामा सम्पन्न गरिएको संघका जिल्ला अध्यक्ष देउकुमारी गुरुङले जानकारी गराउनुभयो ।
कार्यक्रममा वालिङ नगरबाट पार्टीको गण्डकी प्रदेश कमिटिमा रहेका सदस्यहरुलाई संघको तर्फबाट सम्मानसमेत गरिएको थियो ।