चैत ११, वालिङ
कानून बनाएर विकासका कामलाई तिव्रता दिइने नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताउनु भएको छ । आइतबार स्याङ्जाको वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री गिरीले विकासका काममा कानूनका कारणले समस्या हो भने कानून बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
कानूनका कारणले रोकेको छैन भने हाम्रा व्यवहारका कारणले समस्या भएको हुनसक्छ । हामीले आफ्नो व्यवहारलाई सच्याउनुपर्छ । होइन भने हामी राजनीतिक नेतृत्वहरु अत्यन्त कठोर भएर यस विषयमा प्रस्तुत हुनुपर्ने मन्त्री गिरीले भन्नुभयो ।
सत्तामा भएका र नभएका सबै राजनीतिक पार्टीहरुले देशको समृद्धि र सुशासनको मुद्दालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुपर्ने आजको अपरिहार्य आवस्यकता रहेको मन्त्री गिरीले औंल्याउनुभयो । उहाँले भन्नुभयो—“मुलुकमा तीनतहको सरकार छ, ती तिनै तहका सरकारहरुले विकास र समृद्धिको मुद्दामा सबै एउटै कित्तामा उभिनु पर्ने बेला आएको छ । एउटै ढङ्गले लयवद्ध भएर अगाडि बढ्न सकेनौं भने वास्तवमा हामीले चाहेको विकासको गन्तव्यमा पुग्न सक्दैनौ । त्यसकारण तिनवटै तहबीचको समन्वयको जरुरत पर्दछ ।”
हामी कि गर या मर को अवस्थामा छौं । देशलाई जनताको जुन समृद्धिको आकाङ्क्षा छ, परिवर्तनको अपेक्षा प्रकट भएको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नका निम्ति डुवुल्की मारेर लाग्नुपर्छ । समाजका हरेक क्षेत्रमा सुशासन, कायम गर्ने कुरामा हामीले पूरा दृढ इच्छाशक्तिकासाथ काम गर्नुपर्छ । भ्रष्टाचारलाई शुन्यमा झार्न हामी सबैले सङ्कल्प गर्नुपर्छ । विकासे कामहरुमा हुने ढिलासुस्तीहरु, अनेक किसिमबाट हुने वाधा व्यवधानहरु कानूनका कारणले हो कि के कारणले हो, पत्ता लगाएर अगाडि बढ्नुपर्नेमा मन्त्री गिरीको जोड छ ।
भुम्रे हुवासको सडकका विषयमा आँफू पूर्ण जानकार रहेको उल्लेख गर्दै मन्त्री गिरीले विगतका दिनमा के कति कारणले काम हुन नसकेको हो, त्यसको निम्ति आफ्नो ठाउँबाट सम्पूर्णरुपले पहल कदमी लिने प्रतिवद्धतासहित ढुक्क रहन आग्रह गर्नुभयो । रातो किताबमासमेत परेको सडक ठेक्का लागिसकेको अवस्थामा बजेट अभावका कारण रोकिएको भए यसलाई निकास दिन आँफूले पहलगर्ने मन्त्रीगिरीले बताउनुभयो ।
यसैगरी पर्वतको हुवासदेखि वालिङहुँदै चापाकोट र पाल्पाको रामपुर जाने सडकका लागि पनि पहल गर्ने उहाँको भनाई छ । कालिगण्डकी करिडोरको बाटो पाल्पाको रामपुरसम्म जान यो सडकबाट करिव ४० किलोमिटर छोंटो हुने र यो क्षेत्रका लागिसमेत फाइदा पुग्ने भएकाले पनि आफ्नो विशेष ध्यानजाने उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले संघ र स्थानीयतहको कानुन बाझिएर कतिपय अवस्थामा कामगर्न अप्ठ्यारा स्थिति रहेको भन्दै त्यस्ता जटिलतालाई सहज बनाउन मन्त्री समक्ष आग्रह गर्नुभयो । बाँदर आतंकका कारण जमिन बाँभmो हुने, बसाईसराई बढ्ने जस्ता समस्या रहेको भन्दै यसको नियन्त्रणका लागि कानून संसोधन गरेर भएपनि समाधानमा पहल गर्न नगरप्रमुख खांणको सुझाव छ ।
नगरले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने निर्णय गरेर अगाडि बढेको छ । हेर्दा सामान्य लाग्न सक्छ तर यसको क्षेत्र र भूमिका फराकिलो छ । धेरैलाई रोजगारीसहित आम्दानीको स्रोत बन्नुका साथै वार्षिक करोडौं राजस्व उठ्ने देखिन्छ ।
यसमा समेत कानूनी अड्चन भएकाले स्थानीयतहलाई नै जिम्मा दिनेगरी कानुन ल्याईनुपर्ने नगरप्रमुख खांणको भनाई छ । यसकासाथै वालिङमा चुनढुङ्गाको संभावना रहेको छ, कानूनका कारणले खानी खनिजलगायतका स्रोत साधन प्रयोग गर्न पाइएको छैन । यसका लागि पनि नगर प्रमुख खाँणले मन्त्री गिरीको ध्यान आकृष्ट हुन आग्रह गर्नुभयो ।