चैत १५, वालिङ
पाल्पाको रामपुरमा ऋण व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ । सहकारी संस्थाहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी तालिम बिहिवार देखि सुरु गरिएको हो । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको हो ।
तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हरेक सहकारीले उत्पादनको क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गर्नुभएको छ । उहाँले नगर भित्र सञ्चालित सहकारीले उत्पादन र ऋणको सही सदुपयोग गर्नसक्ने आधार एकिन गरेर मात्र लगानी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर भित्रका हरेक सहकारीको कार्य सम्पादन अनुगमन गर्ने भन्दै नगर प्रमुख थापाले सहकारी संस्थाको प्रबद्र्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साथै नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहकार्य गर्न सहकारी संस्थाहरुलाई अनुरोध समेत गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले नगरबासीको र्आिथक समृद्घिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।
३ दिनसम्म चल्ने तालिमको सहजीकरण रामपुर नगरपालिकाका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले गर्नु भएको छ । तालिममा नगरपालिका भित्रका २१ जनाको सहभागिता रहेको छ ।