चैत १८, वालिङ
स्याङ्जाको वालिङमा ६७ औं राष्ट्रिय सहकारी दिवस सुरु भएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई विविध कार्यक्रमसहित मनाइने भएको हो । स्याङ्जा जिल्ला सहकारी संघ लिमिटेड, राष्ट्रिय सहकारी ब्याङ्क लिमिटेड र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले ६७ औं राष्ट्रिय सहकारी दिवसको आयोजना गरेका हुन् ।
“सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने मूल नारासहित आइतबार सुरु भएको ६७ औं सहकारी दिवस विविध कार्यक्रमगरी तीनदिनसम्म मनाइने आयोजकले जनाएको छ । दिवसका अवसरमा १८ गते आइतबार जिल्लामा रहेका सहकारी संस्थाका सञ्चालक समिति एवम् व्यवस्थापकहरुको सहभागितामा अन्तक्र्रिया तथा प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ ।
दिवसको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले राष्ट्रिय सहकारी महासंघको पहलमा एकीकृत कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना हुने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले एकिकृत कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापनाका लागि एक हप्ताभित्र घोषणा गरिने बताउनुभएको होे । एकिकृत कर्जा सूचना केन्द्रबाट कर्जा लिन आउने सेवाग्राहीको अन्य बैंक वित्तीय संस्थामा ऋण लिए नलिएको सूचना पाउन सकिने उहाँले स्पष्ट पार्नुभयो ।
सहकारी अभियान संकटमोचन अभियान हो । संकटमोचनका लागि नै सहकारीको सुरुवात भएको बरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गर्नुभयो । प्रजातान्त्रिक वातावरण भएका मुलुकमा सहकारीहरु फस्टाएको उल्लेख गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालमा सुरुका अवस्थामा राज्य नियन्त्रित सहकारी भएको र अहिले शासन व्यवस्था फेरिएसँगै बहुआयामिक गरिवी निवारणको भूमिकामा रहेको व्यक्त गर्नुभयो ।
यसैगरी बचत तथा ऋण केन्द्रीय संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले जस्तोसुकै विसम परिस्थितिमा पनि जनताको बीचमा पुग्ने सहकारी भएको बताउनुभयो । चाहे त्यो देशमा भएको सशस्त्र द्वन्दको बेला होस, चाहे कोरोना कहरका समयमा नै किन नहोस जनताको घरमा पैसा पु¥याउने काम सहकारीले गरेको उहाँले उल्लेख गर्नुभयो । वित्तीय संस्थाको काम ऋणि बनाउने मात्र होइन, जनतालाई आर्थिक समृद्धिमा लैजानु पनि हो । यो काम सहकारीले गर्ने र गर्दै आएको बचत तथा ऋण केन्द्रीय संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष अधिकारीले बताउनुभयो । यो सँगै महिला सशक्तिकरणमा पनि सहकारीको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–“ शेयर सदस्य बनाएर आर्थिक सुरक्षणसँगै नेतृत्वदायी भूमिकामा सहकारीले अगाडि बढाएको छ । अगाडि बढ्न नसकेकालाई अवसर प्रदान गर्ने र बोल्न नजान्नेलाई बोल्न र हिड्न सिकाउने काम सहकारीले गर्दै आएको छ ।”
बैंक वित्तिय संस्थाले ऋणि बनाउछ भने सहकारीले बचतको माध्यमबाट आर्थिक समृद्धि ल्याउने उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्याङ्जा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले कार्यक्रमका बारे जानकारी गराउनु भएको थियो ।
सहकारी दिवसको तीनदिने कार्यक्रम अनुसार १९ गते जिल्लाका प्रत्येक पालिकामा स्थानीय सरकार समक्ष ज्ञापनपत्र बुझाउने आयोजकले जानकारी दिएको छ । २० गते मङ्गलबार सहकारीका आ–आफ्ना संस्थामा सबै सदस्यहरुलाई सहभागी गराई संस्थाको अवस्था र सदस्यहरुको जिम्मेवारी सम्बन्धी सहकारी शिक्षा कार्यक्रमसहित दिवस सम्पन्न गरिने छ ।