चैत १९,वालिङ
स्याङ्जाको वालिङ नरपालिकालाई सहकारीहरुले ज्ञापनपत्र बुझाएका छन् । वालिङ नगरक्षेत्रमा रहेका सहकारीहरुले १० बुँदे मागसहित नगरपालिकालाई सोमबार ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित मागपत्र वालिङ नगर प्रमुख कृष्ण खाँणलाई बुझाइएको हो ।
विविध कार्यक्रमसहित ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने तीनदिने कार्यक्रम अन्तर्गत आज दोस्रोदिन वालिङसहित जिल्लाका स्थानीय तहहरुमा बिभिन्न मागसहित ज्ञापनपत्र बुझाइएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी गराउनुभयो ।
सहकारी क्षेत्र देशको अर्थतन्त्रको अभिन्न अङ्ग भएको र तीनखम्वे अर्थनीति मध्ये एक सहकारीलाई स्वीकार गरेको उल्लेख गर्दै वालिङ नगरक्षेत्रमा रहेका सहकारीहरुले नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयतहबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम सहकारी मार्फत सञ्चालन गर्न प्राथमिकता दिइयोस् र स्थानीयतहबाट हुने अनुगमनमा सहकारीको प्रतिनिधि समावेस गरियोस् ज्ञापनपत्रमा भनिएको छ । यसैगरी स्थानीय तहबाट दिइने भूक्तानी सहकारीमार्फत दिने व्यवस्था गरियोस्, सहकारीका सञ्चालक,कर्मचारी र शेयर सदस्यहरुका लागि सहकारी ऐन कानून र सहकारी शिक्षाका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गर्न सहकारीहरुको माग छ । सहकारीताको मर्म, सिद्धान्त र आचरण विपरित हुने जुनसुकै कृयाकलापलाई अपराधजन्य कार्य मानी नियन्त्रणका लागि ठोस कदम चाल्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सहकारी क्षेत्रको अनुगमन, नियमन र सहजीकरणका लागि पालिकामा प्रभावकारी संयन्त्र निर्माण गरी दक्ष जनशक्तिको व्यवस्था गरियोस्, बिभिन्न बहानामा सहकारीको बदनाम गराउन खोज्नेको निगरानी राख्दै त्यस्ता तत्वलाई निरुत्साहित गर्न योजना र कार्यक्रम तयगरी कार्यान्वयन गरियोस् भन्ने लगायतका १० बुँदे माग ज्ञापनपत्रमा गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सहकारीहरुमा भएका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर लाग्ने बताउनुभयो । सहकारीका सम्बन्धमा नगरपालिका गम्भीर रहेको भन्दै नगर प्रमुख खाँणले माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । यसकासाथै उहाँले आगामी आर्थिक वर्ष सहकारीका लागि बजेटको व्यवस्था गरिने विश्वास व्यक्त गर्नुभयो । नियमनकारी भूमिकामा स्थानीयतह रहेको उल्लेख गर्दै नगर प्रमुख खाँणले यसमा वालिङ नगरपालिका गम्भीर रहेको बताउनुभयो ।