चैत २४, वालिङ
स्याङ्जाको गल्याङमा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव हुने भएको छ । “गल्याङ महोत्सवको आधार कषि, उद्योग पर्यटन नै हाम्रो पूर्वाधार” भन्ने मूल नारासहित तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव २०८० हुने भएको हो ।
यही चैत्र ३० देखि वैशाख ९ गतेसम्म तल्लो गल्याङमा रहेको खेलमैदानमा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव २०८० हुने आयोजक गल्याङ उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
गल्याङ क्षेत्रको सेतीवेणी शिला, ताम्केकोट, जगत्रदेवी, आलमदेवी तथा गह«ौंकालिका तथा अकलादेवी मन्दिर एवम् कालीगण्डकी तथा आँधिखोला जलविद्युत परियोजना, उत्तरवाहिनी, रामदीलगायतका धार्मिक क्षेत्रको प्रचार गर्ने महोत्सवको उद्देश्य रहेको छ । यसैगरी गल्याङ उद्योग वाणिज्य संघको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने तथा महोत्सवबाट बचत हुने रकमबाट सामाजिक उत्तरदायित्व अन्तर्गत लक्षित वर्ग समक्ष कार्यक्रमहरु गरिने महोत्सवको उद्देश्यमा समेटिएको छ ।
महोत्सवमा कूल १ सय ४० स्टल राखिने छ भने यसमध्ये २० वटा स्टल कृषि प्रदर्शनीका लागि निःशुल्क उपलव्ध गराइने संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठले बताउनुभयो । महोत्सव अवलोकनमा आउने सर्व साधारणका लागि टीकट दर रु १ सय र विद्याथीहरुका लागि रु. ७० कायम गरिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । यसैगरी महोत्सव सफल पार्नका लागि २९ वटा विभिन्न उपसमितिहरु बनाई परिचालित गरिएको उहाँले बताउनुभयो ।
अन्तर जिल्ला भलिवल प्रतियोगिता, गल्याङ डान्स आइडल, खुल्ला रत्यौलीगीत प्रतियोगिताको साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवको आकर्षण रहेको आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः नगद रु. १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजारकोसाथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसकासाथै भलिबलमा बिभिन्न विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । यसैगरी गल्याङ डान्स आइडल र रत्यौली गरी दुबै विधाका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद रु.१५ हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सेतो शहरकोरुपमा विकासमा लागेको गल्याङलाई टेवा पु¥याउन महोत्सवमा दुध र दुग्धजन्य परिकार विशेष रहने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो ।
स्टल भाडा, बाल उद्यान, टीकट विक्रि, प्रायोजनलगायतबाट कूल ५४ लाख आमदानी गर्ने र सम्पूर्ण खर्च कटाएर रु. ५ लाख ७५ हजार बचत गर्ने आयोजकको लक्ष्य छ । यस्तै १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।
चैत्र ३० गते संघको स्थापना दिवस एवम् नयाँ वर्षको अवसरसँगै विद्यार्थीहरुको लागि पनि शैक्षिकसत्र सकिएर विदाको समय पारेर महोत्सव सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।