चैत ३०, वालिङ
स्याङ्जाको भीरकोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शुक्रबार भीरकोट नगर अस्पताल हेलुमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरबाट कूल ५ सय जना लाभान्वित भएका छन् ।
शिविरको शुभारम्भ गर्दै गण्डकी प्रदेशका पूर्व शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना नागरिकको स्वास्थ्य ठूलो हो भनेर नगरपालिकाले शिविरको आयोजना गर्नु प्रशंसनीय रहेको बताउनुभयो । भीरकोटबासीका साथै समग्र जिल्लाकै मध्येभागमा रहेको भीरकोट हस्पिटल धेरैको लागि पायक पर्ने ठाउँमा रहेको र उपलव्ध सेवाबाट लाभान्वित हुन गण्डकी प्रदेशका पूर्वमन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । यसकासाथै उहाँले पहिलो भनेको स्वास्थ्य हो, यो हस्पिटललाई विश्वास गरेर उपचार गर्न गराउन अनुरोध गर्नुभयो । यो हस्पिटलका लागि प्रदेश र केन्द्रबाट चिकित्सक ल्याउने प्रयास भैरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख गोविन्द कर्माचार्यले स्थानीय स्तरमा उपलव्ध सेवा सुविधाको विश्वास नगरेर महङ्गो उपचारका लागि टाढा नजान अनुरोध गर्नुभयो । हामी नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएर लागेका छौं, उहाँले भन्नुभयो सबैले आफ्नो शरीरमा भएका समस्या खुलस्तरुपमा राखेर उपचार सेवा लिनुहोस् । मनमोहन मेमारियन हस्पिटलसँग वार्षिकरुपमा यसैगरी शिविर सञ्चालन गर्ने सम्झौता गरेको नगर प्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।
यसैगरी डाक्टर मनोहर सिं शैयदले शिविरका बारेमा जानकारी गराउनु भएको थियो । डा. शैयदले महिलाहरुका लागि पाठेघरको मुखको जाँच, बालरोग, हाडजोर्नी, भिडियो एक्सरेलगायतका सेवा लिई लाभान्वित हुन आग्रह गर्नुभएको थियो । यहाँबाट सिफारिस गरिएको विरामीलाई काठमाडौमा पनि निः शुल्क उपचार हुने उहाँले जानकारी दिनुभयो । उक्त सेवा जेठको अन्तिम हप्तामा दिइने उहाँले उल्लेख गर्नुभयो ।
शिविरबाट कूल ५ सय जनाले सेवा लिएका स्वास्थ्य शाखाका श्रीराम अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार सेवा लिएकामध्ये ५ जनाको माइनर अपरेसन भएको छ ।
भीरकोट नगरपालिकाको आयोजनामा भएको शिविरमा मनमोहन मेमोरियल एण्ड टिचिङ हस्पिटल काठमाडौंले सहजिकरण गरेको थियो ।