वैशाख १, वालिङ
स्याङ्जाको वालिङमा शुभकामना आदान प्रदानसँगै पुस्तकालय उद्घाटन गरिएको छ । वालिङको १ नम्वर वडाको त्रियासी खहरेमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदान प्रदानसँगै जनता पुस्तकालय शनिबार समुद्घाटन गरिएको हो ।
१ नम्वर वडा कार्यालयसँगै रहेको पुस्तकालय समुद्घाटन गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले नयाँवर्षको शुभारम्भसँगै रचनात्मक कामको थालनी भएको बताउनुभयो । पुस्तकालय सञ्चालनमा ल्याएर वडाले रचनात्मक कामको थालनी गरेको नगर प्रमुख खाँणले बताउनुभएको हो । जनता पुस्तकालय स्थापनामा स्थानीय निवासी स्तन्त्रता सेनानी स्वर्गीय सूर्यप्रसाद रेग्मीको विशेष योगदान रहेको उल्लेख गर्दै स्वर्गीय रेग्मीको उच्च सम्मान भएको उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो,“ तत्कालिन पञ्चायती शासन व्यवस्थाका समयमा जनताहरु शिक्षित र जागरुक हुनुपर्छ भनी जनता पुस्तकालय स्थापना गरेर स्वर्गीय रेग्मीले महत्वपूर्ण कार्यको विजारोपण गर्नुभएको थियो ।” समाज बिगार्नका लागि कुनै हतियार चलाउन वा वम पड्काउनु पर्दैन, शिक्षालाई अस्तव्यस्त बनाएमात्र पुग्ने भन्दै नगर प्रमुख खाँणले पुस्तकालय सञ्चालन गरेर पढ्ने बानीको विकास गर्नु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले तत्कालिन समयमा स्थापना भएर बिचैमा रोकिए पनि पुस्तकालयले अब निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । यसका लागि हातमा हात र काँधमा काँध मिलाउन नगरपालिका तयार रहेकोसमेत उहाँले ब्यक्त गर्नुभयो ।
वडा कार्यालयको एक कोठामा सञ्चालनमा ल्याइएको पुस्तकालयको अबको तीनवर्षमा भवन निर्माणको काम गरिने नगर प्रमुख खाँणले प्रतिवद्धता जनाउनुभयो । यसकासाथै एक वडा एक पुस्तकालय स्थापनाका लागि आगामी आर्थिक वर्षको बजेटमा सम्वोधन गरिनेसमेत उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी १ नम्वर वडा अध्यक्ष पदमराज गुरुङले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । वडा नम्वर १ को कालिमाटीमा स्थापना भएको पुस्तकालय तत्कालिन पञ्चायती समयमा वन्द गराइएको र अहिले त्यसलाई व्यँुझाएको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । हामी सबैले अध्ययन गर्ने बानी बसाल्न आवस्यक छ, अध्ययनले नै मानिसलाई सक्षम बनाउने भएकाले पुस्तकालय सञ्चालनलाई अगाडि बढाएका हौं उहाँले भन्नुभयो एक व्यक्ति एक पुस्तक अभियान लागु गर्न सकियो भने पुस्तकालयले पूर्णता पाउँन सक्छ ।
कार्यक्रममा कठिन परिस्थितिमा पनि जनताले शिक्षा लिएर चेतनशिल हुनुपर्छ भनेर थालनी गरिएको पुस्तकालय सञ्चालनमा ल्याइनु सराहनीय रहेको वालिङ नगरपालिकाका सल्लाहकार एवम् वौद्धिक व्यक्तित्व जीवलाल काफ्लेले बताउनुभयो । पुस्तकालयको नाममा जग्गाको व्यवस्था पहिला नै भैसकेकाले अब आफ्नै भवनमा सञ्चालनमा ल्याउन हामी सबै लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नयाँवर्षको भित्तेपात्रो विमोचनसमेत गरिएको थियो । नगरपालिकाद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरिएको हो । कार्यक्रम १ नम्वर वडाको आयोजनामा गरिएको हो ।