वैशाख २, वालिङ
तीन तहको शासन प्रणाली अन्तर्गत स्थानीय तहलाई भूईं सरकारकारुपमा लिइन्छ । नागरिकहरुसँग साक्षात्कार हुने स्थानीय पालिका हुन् । त्यसैले स्थानीय आवस्यकताको पहिचान गरी विकास निर्माणमा पहिलो भूमिका पालिकाहरुकै रहन्छ । यसैबीच स्याङ्जाको चापाकोटले यो वर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ ।
प्राविधिक शिक्षा आजको आवस्यकता रहेको मान्यतालाई अङ्गिकार गर्दै नगरपालिकाले आगामी आर्थिक वर्ष चापाकोटमा कृषि क्याम्पस सञ्चालनमा ल्याउनेगरी कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख देवबहादुर खाँण ( इश्वर ) ले बताउनु भएको छ । एक पालिका एक प्राविधिक शिक्षालय अन्तर्गत किसान बहुप्राविधिक शिक्षालय सञ्चालनमा रहेको छ भने यो वर्ष कृषि क्याम्पस सञ्चालनमा ल्याउनेगरी कार्यक्रम अगाडि बढेको नगरप्रमुख खाँणले हामीसँगको कुराकानीमा जानकारी गराउनुभएको हो । उहाँका अनुसार कृषि क्याम्पसका लागि १ सय १७ रोपनी जग्गाको व्यवस्थापन गरिसकिएको छ । कृषि क्याम्पसका नाममा जग्गा पास भैसकेको छ । यसकासाथै क्याम्पस सञ्चालनका लागि अरु धेरै कुराहरु अगाडि बढेको उहाँको भनाई छ । कृषि क्याम्पस सञ्चालनका लागि चापाकोट अत्यन्त उपयुक्त ठाउँ पनि हो । उहाँले भन्नुभयो, “समथर भूभाग, आवस्यक जग्गा व्यवस्थापनको सुविधा भएको र चापाकोटकासाथै झण्डै देशकै मध्ये भागमा पर्दछ । योसँगै कालीगण्डकी करिडोरको नजिकै रहेको र चारैतिरबाट यहाँ आउन र जानका लागि यातायातको सुविधा सम्पन्न छ । स्याङ्जासँगै छिमेकी जिल्ला पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वत, गुल्मीलगायतको पायक पर्ने क्षेत्र पनि हो । अतः कृषि क्याम्पस सञ्चालनका लागि चापाकोट अत्यन्त उपयुक्त ठाउँ हो । ”
यसैगरी एक पालिका एक १५ शैयाको अस्पताल राज्यको नीति छ । धेरै पहिला बन्नुपर्ने थियो तर जग्गाको व्यवस्थापन हुन नसक्दा अस्पताल बन्न सकेको थिएन । यसका लागि लगभग ३५ रोपनी जग्गाको व्यवस्था गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । हस्पिटल सञ्चालनका लागि आवस्यक प्रकृया अगाडि बढिसकेकाले आगामी आर्थिक वर्ष यो हस्पिटल सञ्चालनमा ल्याइनेगरी काम हुने उहाँको विश्वास छ । गुणस्तरीय शिक्षाको विकास गर्नुपर्छ भनेर नगरपालिका लागेको छ । पूर्वाधार विकाससँगै विद्यार्थीहरुको स्वास्थ्यका लागि पनि नगरपालिकाले विशेष जोड दिएको छ । यसका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम लागु गर्ने तयारीमा जुटेका छौं । आगामी आर्थिक वर्ष निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम लागु गर्ने योजना रहेको छ । सम्भवतः देशकै स्थानीय पालिकाहरुको यो नयाँ काम हुने नगर प्रमुख खाँणको भनाई छ ।