कार्तिक ०१ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ शनिबारदेखि सुरु भएको छ ।
आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन शनिबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यसदिन रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा राखेर त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने घटस्थापनाको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ ।
यसैगरी कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १० ः १९ बजेको साइत उत्तम रहेका समितिले उल्लेख गरेको छ ।