वैशाख २५, वालिङ
पाल्पाको रामपुरमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको छ । रामपुर नगरपालिकाले सोमबार देखि निःशुल्क एक महिने लोक सेवा आयोग तयारी कक्षा सुरु भएको हो ।
कक्षाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राष्ट्रसेवक कर्मचारी भएर काम गर्न चाहनेहरुका लागि सहज वातावरण सिर्जना गर्नका लागि लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको बताउनुभयो । देशमै धेरै सम्भावना रहेको भन्दै नगर प्रमुख थापाले लगनशीलताका साथ अध्ययन गरेर लोक सेवा परीक्षा मार्फत जनता र राष्ट्रको सेवामा लाग्न आग्रह गर्नुभयो । छिमेकी जिल्लाहरुको तुलनामा पाल्पाका राष्ट्रसेवक कर्मचारी कम रहेको भन्दै त्यसलाई वृद्धि गर्नका लागि लोक सेवा आयोगमा प्रवेश गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले उच्च मनोबलका साथ अध्ययन गरे सफलता प्राप्त हुने उल्लेख गर्नुभयो । सफलताका लागि लगनशील र मेहेनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका प्रशासन अधिकृत एवं लोक सेवा आयोग तयारी कक्षाका संयोजक युवराज पन्थीले कार्यक्रमको बारेमा प्रष्ट पार्दै लोक सेवा आयोगको तयारीका लागि ज्ञान सीप र तरिका सिकाइने बताउनुभयो ।
लोक सेवा आयोग तयारी कक्षामा ५७ जनाले सहभागिता जनाएका छन् ।