वैशाख ३०, वालिङ
स्याङ्जाको वालिङ नगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवम् सञ्चारकर्मीकाबीच फोहरमैला व्यवस्थापन सम्बन्धी आइतबार छालफल तथा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बायोमास अल्टरनेटिभ रिनेबल ईनर्जी प्रालिले शुन्य फोहोर व्यवस्थापनका विषयमा प्रकाश पारेको थियो । नेपालमै निर्मित अत्याधुनिक मेसिनद्वारा फोहोर प्रशोधन गरी स्वच्छ वातावरण बनाउने उद्देश्यले अगाडि बढेको प्रालिले यसको सफल अभ्यासहरु जापानमा समेत गरिसकेको कम्पनीका प्रबन्धक अमृत थापाले बताउनुभयो । कम्पनीले फोहोरबाट प्रारङगारिक मल र ग्रिन युरिया उत्पादन गर्दै आएको कम्पनीका प्रवन्धक थापाले उल्लेख गर्नुभयो । जिम्मेवारी पाएको खण्डमा कम्पनीले आफ्नै लगानीमा सरसफाई व्यवस्थापनको काम गर्ने उहाँको भनाई छ ।
नकुहिने फोहोर समेत एकैछिनमा नष्ट गर्ने प्रविधि वातावरणमैत्रि रहेको थापाले बताउनुभयो । वालिङ नगरपालिकामा दैनिक १० टन फोहोर निस्कने गरेकोमा ३ टन कुहिने फोहोर निस्कने गरेको छ । कम्पनीले यहाँका ग्रामिण क्षेत्रमा रहेका झारपात, पातपतिङगर, पशुको मलमुत्रलगायतका फोहोरकोसमेत जापानी प्रविधिमा मल, कोईला, युरिया उत्पादन गर्ने जनाएको छ ।
सम्झौता गरी नगरपालिका मार्फत कृषकलाई गाउँघरमा खेर गईरहेका पातपतिङगरसमेत किनेर मल बनाउने योजना गरेको कम्पनीले जनाएको छ । यो योजनामा नगरपालिका र कम्पनीबीच सम्झौता भएमा नगरपालिकाको कुनै लगानी नरहने, २० वर्षे योजना हुँने र विभिन्न डोनरहरुको माध्यमबाट १ अर्ब ३४ लाख लगानी गर्ने कम्पनीका प्रबन्धक थापाले जानकारी गराउनुभयो ।
जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवम् पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नगरपालिकालाई व्यवस्थित रुपमा अगाडि बढाउन सुझाव दिएका छन् । कार्यक्रमका सहभागीहरुले नगरपालिका आम नागरिकको स्थानीय सरकार रहेको वालिङ उदाहरणीय बन्नुपर्ने धारणा राखेका छन् ।
नगरपालिकाको सरसफाई केन्द्रको लागि मेशिन तथा औजारको खरिद एवम् जडानका विषयमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
ठेक्का सम्झौता सकिएपछि खैरवाङगी निर्माण सेवाले बिना जानकारी फोहोर प्रशोधन मेसिन ल्याएको र निःशुल्क मेशिनसहित फोहोर व्यवस्थापन गर्छु भन्ने एक पक्ष आईरहँदा नगरपालिकाले करौड बढिको मेशिन खरिद गर्न नहुने र सुझवुबझसहित अवसरको सदुपयोग गर्न सहभागीहरुले सुझाएका छन् । फोहोर व्यवस्थापनमा उत्कृष्ट पुरस्कारसमेत हात पारेको वालिङमा फोहोर प्रशोधन मेसिन खरिद तथा जडानको विषय विवादित बनेपछि सहभागीले प्रश्न गरेका हुन् ।कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले स्मार्ट नगरको रुपमा विकसित नगरपालिकालाई नागरिकको आवश्यकतालाई मध्यनजर गरी अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाइने बताउनुभयो । नगरप्रमुख खांँँणले नगरको विकासमा सवै सरोकारवाला संँग समन्वय गरी कार्यक्रम अगाडि बढाउने उल्लेख गर्नुभयो ।
यसैगरी नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरको बृहत्तर विकासका निम्ती सवै सरोकारवालाको सुझावसहित सहकार्य गरिने बताउनुभयो । उहाँले हामी सबैको जीत हुनेगरी नगरपालिका अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मेशिन खदिरका लागि २०७८ साल माघ १६ गते जाजरकोटको खैरवाङगी निर्माण सेवासँग सम्झौता भएको थियो । २०७९ जेठ मसान्तमा १ करोड ६ लाख १७ हजार ४ सय ८० रुपैँयामा मेशिन ल्याउने सम्झौता नगरपालिका र खैरवाङगी निर्माण सेवाबीच भएको थियो । कम्पनीले सम्झौता अनुसार समयमा मेशिन ल्याउन नसकेपछि २०८० असार मसान्तसम्म म्याद थपिएको थियो । म्याद थपिएको समयमा पनि ल्याउन नसकेको र म्याद थपको समयभन्दा झण्डै एक वर्षपछि मेशिन ल्याएको हो ।
२०८० फाल्गुन २४ गतेको नगरपालिका बोर्ड बैठकले भने कम्पनीले थप गरेको म्यादमा पनि औजार नल्याएको र पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि सम्झौता तोड्ने निर्णय गरेको थियो । सम्झौता तोड्ने निर्णय गरेर ५ दिनको सूचना निकालेको र उक्त सूचना निकालेको ३ दिनमा कम्पनीले मेशिन सरसफाई केन्द्रमा ल्याएको थियो । कम्पनीले लगिकेको २१ लाख २३ हजार पेश्कीसमेत फिर्ता गरेको अवस्थामा अहिले एकाएक बिना खबर मेशिन ल्याइएको जानकारीमा आएको हो ।