वैशाख ३१, वालिङ
नेपाली अभियान्ता र अजर बैजानका बकु क्लबका सदस्यहरु बीच क्वाटर म्याराथन सम्पन्न भएको छ ।
अजरबैजानको बकु म्याराथन क्लवले म्याराथनको आयोजना गरेको हो । क्वाटर म्याराथनका संयोजक हुसेनाघा सफारोवले नेपालदेखि आफ्नो देशसम्म यो अभियान लिएर आएको देख्दा उपस्थित सम्पूर्ण सहभागीहरुले खुसी व्यक्त गरेका बताएका छन् । म्याराथन प्रतियोगितासँगै एक अर्काबीच सम्बन्ध प्रगाढ हुनेमा आयोजकले विश्वास लिएको छ ।
अजरबैजानी नागरिक एवम् कार्यक्रमका संयोजक हुसेनाघा सफारोवले भनेका छन् –“आज हामीले प्रकृतिको रक्षाका निम्ति एउटा क्वार्टर म्याराथन सम्पन्न गरेका छौ । दौडमा सकेसम्म मैले हजुरहरुलाई यहाँको सुन्दरता, परम्परा र इतिहासलाई पनि बुझाउने कोसिस गरें । यो दौडले नेपाल र अजरबैजानको मित्रतालाई पनि अझै प्रगाढ बनाउने छ भन्ने बिश्वास गरेको छु । कुनै दिन हामी बाकु म्याराथन क्लब पनि हजुरहरुको देशमा आएर संगै दौड गर्नेछौ । यो पृथ्वी निकै नै सुन्दर छ र यसको सुन्दरतालाई बचाउने जिम्मेवारी पनि हाम्रै हो । त्यसैले हजुरहरुले जुन अभियान गरिरहनुभएको छ, यसमा हाम्रो पूर्ण समर्थनसहित धन्यवाद ।“
ग्लोबल वार्मिङक, मानवीयता र पृथ्वीलाई जोगाउनु हामी सबैको दायित्व हो भन्ने सन्देश प्रवाह गर्दै बाकु म्याराथन क्लवले आयोजना गरेको क्वाटर म्याराथनमा भाग लिन दुवईबाट नेपाली अभियन्ताहरु अजरबैजान पुगेका थिए ।
अभियानका प्रमुख अभियन्ता नवीन पुनले नेपालको सगरमाथा आधार शिविरदेखि सुरु भएको अभियान अजबैजानसम्मपुग्दा धेरै अनुभव लिने अवसर पाएको बताए । पुनको भनाई छ “हामी एउटा महान अभियानकासाथ नेपालदेखि भारत ,श्रीलंका ,दुवई हुदै अजरबैजानसम्मपुग्दा विभिन्न अनुभव संगाल्ने अवसर पाएका छौं । पक्कैपनि यो अभियानलाई एउटा ठुलो चुनौती सगैको बृहत अवसरको रूपमा लिएर अगाडि बढेका छौ ।“
१ सय ५० बढी देशमा ४२ हजार १ सय ९५ किलोमीटर दौड गरिने भएपनि दुवईको वर दुवईमा ३ सय ६० किलोमीटर रन सकेपछि अजरबैजान पुगेको पुनको भनाई छ । पछिल्लो केही दशक यता निकै ठूला घटना प्रकृतिमा हुने गरेको छ । यसमा स्वभाविक रुपमा कुनै न कुनै माध्यमबाट मानिसको क्रियाकलाप जोडिएको छ । हामीले प्रकृतिको सुन्दरता, र गतिविधिमा खलवल हुने कामहरु गरेका छौं । त्यसैले यसलाई न्यूनिकरण गर्न ग्लोबल वार्मिङको प्रमुख मुद्दालाई लिएर आँफूहरुले शुरु गरेको अभियानले विश्वका हरेक नागरिकहरुमा सचेतना ल्याएर नीति निर्माण गर्दै यस्ता समस्याहरुलाई रोक्नमा बिशेष भूमिका खेल्नेछ भन्नेमा बिश्वस्त रहेको पुनको भनाई छ ।
साथै कार्यक्रम आयोजना गरेर हाम्रो मुद्दामा ऐक्यबद्धता जनाइदिएकोमा बकु म्याराथन क्लबलाई सेभ अर्न एण्ड ह्युमेनिटीको तर्फबाट उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।
अभियानकर्मी प्रशान्त बगाले भन्छन–“ पृथ्वीको तापक्रम दिनदिनै बढिरहेको छ । तापक्रमको अनियमितताको कारणले पृथ्वीका बनस्पति र जीवजन्तुहरु लोप भैसकेका छन् । अहिलेसम्म बैज्ञानिकहरुले पृथ्वी बाहेक अरु कुनै ग्रहमा प्राणीको अस्तित्व भेट्न सकेका छैनन् । पृथ्वी अनौठो ग्रह हो, किनकि यहाँ जीवन सम्भव छ । तर सबैभन्दा चेतनशिल प्राणी मानिसले विकासको नाममा भएका विनाशले अन्य प्राणीहरुकोसमेत अस्तित्व समाप्त हुदैछ, साथै हाम्रो पनि अस्तित्वको विनाश हुदैछ । त्यसैले यस्तो अवस्था नआओस भन्नका निम्ति चालेको हाम्रो सानो पहलले विश्वभरी छरिएका तमाम नागरिकहरुमा जागरण निम्त्याउन सकियो भने हाम्रो उद्देश्य सार्थक हुने छ । नेपाल र अजरबैजान बीच पृथ्वी र मानवता जोगाउनको लागि गरिएको म्याराथनले एकाअर्का देशका नागरिकहरु प्रतिको आत्मीयता पनि प्रगाढ भएको अनुभूति मैले पाएको छु । “
मे ११ मा सम्पन्न भएको कार्यक्रममा हुसेनाघा सफारोव – कार्यक्रम संयोजक टपडिग डाडासोभसँगै बिभिन्न विभाग प्रमुखहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।