जेठ ७, वालिङ
स्याङ्जाको वालिङमा रहेको सहकारी संस्थाले सहकारी शिक्षा तथा उद्घोषण तालिम दिएको छ । ४ गते शुक्रबारदेखि वालिङस्थित राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक एवम् लेखा र बिभिन्न उपसमितिहरुलाई सहकारी शिक्षा तथा उद्घोषण तालिम दिएको हो । जेठ ४ देखि सुरु गरिएको तीनदिने तालिम आइतबार सम्पन्न गरिएको हो ।
तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय सहकारी व्याङ्क वालिङका प्रमुख टिकाराम अधिकारीले आँफूले लिएको ज्ञान सदस्यहरुका बीच लैजानुपर्ने बताउनुभयो । आँफूले लिएको ज्ञान सदस्यहरुका बीच लगेर बाड्न सकियो भने व्यक्तिगतसँगै संस्थागत विकासमा टेवा पुग्ने शाखा प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
धेरैको सहकार्यमा सञ्चालन गरिने सहकारी संस्थामा व्यक्ति केन्द्रित नभएर सामुहिक हितमा लाग्नुपर्दछ र हामी सम्झेर काम गर्नुपर्दछ । त्यसैले सहकारीकर्मीहरुले म नभएर हामी सम्झनुपर्ने उहाँले औंल्याउनुभयो । सहकारीका सात सिद्धान्त अन्तर्गत सहकारी शिक्षा र तालिम रहेकाले सिकेको ज्ञानलाई प्रयोगमा ल्याई संस्थागत हितमा लाग्नुपर्ने शाखा अधिकृत अधिकारीले ल्यक्त गर्नुभयो ।
तीनदिने सहकारी शिक्षा तथा उद्घोषण तालिममा राष्ट्रिय सहकारी व्याङ्क वालिङका प्रमुख टिकाराम अधिकारी, गोपाल जिटी र कला रानाले सहजिकरण गरेका थिए । 