जेठ ८, वालिङ
बुटवल पावर कम्पनीले विद्युत महसुल वृद्धि फिर्ता नगरे थप शसक्त आन्दोलन गरिने बिभिन्न राजनीतिक दलहरुले जनाएका छन् । मङ्गलबार ज्ञापन पत्र बुझाउँदै बिभिन्न राजनीतिक दलहरुले कम्पनीको वालिङ शाखामा गई मूल्य वृद्धि फिर्ता नगरे थप शसक्त आन्दोलन गर्दै लगिने जनाएका हुन् ।
बिज्ञप्तीमा देशको अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा विद्युत जस्तो दैनिक जीवनयापनमा आवस्यक पर्ने सेवामा जनताको ढाड सेक्नेगरी गरिएको महसुल वृद्धिले सबै क्षेत्रमा प्रभाव पार्ने भनिएको छ । जनताको हित विपरित विद्युत नियमन आयोगको सिफरिसमा गत जेठ १ गते सार्वजनिक गरेको कम्पनीको नयाँ विद्युत महसुल फिर्ता गराउन जोडदार माग गर्दछौं बिज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी आम उपभोक्ता र राजनीतिक दल, उद्योगी र व्यापारी आन्दोलनमा रहेको बेला बुटवल पावर कम्पनीले एकतर्फी ढङ्गबाट नियमन आयोगलाईसमेत प्रभावमा पारी गरिएको मूल्य वृद्धि फिर्ता नहुँदासम्म आन्दोलनलाई थप शसक्त गरिदै लगिने जानकारी गराईको छ ।
कम्पनीले गरेको मूल्य वृद्धि पूर्णरुपमा फिर्ता नहुँदासम्म यस कम्पनीबाट उपभोक्ताहरुको मिटर रिडिङ नगर्नुहुन र रिडिङ भैसकेका उपभोक्ताबाट रकम नवुझ्नुहुन विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षरसहित कम्पनीको वालिङ शाखामा ज्ञापन पत्र बुझाइएको हो ।