Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हावाहुरी र असिना पानी, तरकारी बालीमा लाखौंको नोक्सानी

हावाहुरी र असिना पानी, तरकारी बालीमा लाखौंको नोक्सानी

  • गोपाल जिटी
  • बिहिवार, जेठ १० २०८१


  • हावाहुरी र असिना पानी, तरकारी बालीमा लाखौंको नोक्सानी

    जेठ १०, वालिङ
    यो वर्ष हिउदे वर्षा नहुँदा किसानहरु लामो समय खडेरी खेप्न वाध्य भए । जेठ लागेसँगै वर्षा हुन थालेपछि भने आशावादी बनायो । तर अधिकांश किसानहरुका लागि जेठ लागेपछिको वर्षा अभिसाप बन्यो । हावाहुरीसहित देशभर परेको असिना पानीले अधिकांश क्षेत्रका किसानहरुका उत्पादनमा क्षति पु¥याएको छ । किसानहरु कहिले खडेरीको मार त कहिले हावाहुरी र असिना पानीको चुटाइको शिकार बनेका छन् । हावाहुरीसहितको असिना पानीका कारण अधिकांश किसानलाई निरास पारेको छ ।
    स्याङ्जाको वालिङ क्षेत्र असिनापानीको निसाना नै बन्यो । वालिङका धेरै जना किसानहरु हावाहुरी र असिना पानीको शिकार बनेका छन् । B.jpg
    वालिङ १४ पाखुरीबासका खवास कृषि तथा पशुपालन फर्म सञ्चालक भीमबहादुर खवास जिल्लाकै सफल र नमूना कृषकको पहिचान बनाउनु भएका किसान हुनुहुन्छ । उहाँले विगत १५ वर्षदेखि तरकारी खेति गर्दै आउनु भएको हो । गत शनिबार साँझ परेको असिना पानीले टिप्ने तयारीमा रहेका खवासको तरकारी पूर्णरुपमा क्षति भएको छ । 
    उहाँले २ सय जोडी काँक्रा लगाउनु भएको थियो । असिना पानीले क्षति नगरेको भए असार महिनासम्म फल लिइरहन पाइने खवास बताउँनुहुन्छ । प्रति झाल २० किलो फल्ने उहाँको अनुमान थियो । डेढ क्वीण्टल मात्र बिक्रि गर्नुभएका खवासको फलिरहेका काँक्राको झालहरु शनिबार साँझ परेको असिना पानीले सबै सखाप पारेको हो । काँक्राबाट मात्र ३ लाखको हाराहारीमा आम्दानी हुने उहाँको अनुमान थियो । योसँगै उहाँले गोलभेडा पनि निकै राम्रो फलाउनु भएको थियो । पाकेर टिप्ने बेला भएका गोलभेडा पनि असिना पानीले सबै नोक्सान गरेको छ । गोलभेडाका फल असिनाले चुटेर भुईंभरी भएका छन् । यसैगरी रहरलाग्दोगरी फलेका घिउसिमी पनि पूरै नष्ट भएको छ । सबै गरेर यो सिजनमा मात्रै करिव ४ लाखको आम्दानी माटोमा मिल्न गएको खवासको दुखेसो छ । सरकारले बिमा गरेर लाभ लिन त भन्छ तर बिमा कार्यालयमा जाँदा बिमा गर्न मान्दैनन् । सरकारले शुल्क नतिर्ने भएपछि बिमा गर्न सकिदैन भन्ने गरेको खवासको गुनासो छ ।M.jpg
    यसैगरी वालिङकै वडा नम्वर १३ पाठखोलाका मेघनाथ गौतमलाई पनि साढे तीन लाख भन्दा धेरैको नोक्सान भएको छ । गौतमको ४ रोपनी क्षेत्रमा बिभिन्न जातका तरकारीमध्ये केहीले फल दिन थालिसकेका थिए भने कतिपय फल दिने तयारीमा थिए । गौतमले काँक्रा, गोलभेँडा, खुर्सानी, घिरौंला, करेला, मिटर बोडी, बोडा तथा लौका लगाउनु भएको थियो । तीन महिनादेखिको मेहेनत छिनभरमै माटोमा मिल्दा निकै दुःखी बनाएको गौतमले सुनाउनुभयो । हावाहुरीसहितको असिना पानीले लगाएको खेति नास भयो, हामी जस्ता किसानका लागि केही सहयोग मिल्छ कि भनी नगरपालिकामा जाँदा बजेट छैन भन्ने जवाफ पाएको उहाँले बताउनुभयो । कहिले भाउ नपाएर समस्या हुन्छ त कहिले प्रकृतिबाट धोका पाइन्छ । किसानका लागि ढुक्क हुने अवस्था छैन । राज्यले अभिभावकीय भूमिका निभाउन नसक्दासम्म हामी किसानहरुका लागि सधैंको चिन्ताले सताइरहन्छ, गौतमले भन्नुभयो ।
    पाठखोलाकि मञ्जु रासकोटी पनि सोहि दिनको असिना पानीको शिकार बन्नु भएको छ । रासकोटीको पनि साढे तीनलाख भन्दा बढीको आम्दानीमा ब्रेक लागेको छ । कुखुराको खोरको छानो उडाउँदा २० दिन पुगिसकेका ६० भन्दा धेरै कुखुरा असिनाको चुटाइले मरे भने सँगै लगाएको तरकारीमासमेत क्षति भएको छ । संरचनासमेत गरी करिव ४ लाखको नोक्सान भएको रासकोटी बताउनुहुन्छ । योसँगै वालिङ क्षेत्रमा हावाहुरीसहितको असिना पानीले तरकारी बालीमा लाखौंको क्षति पुगेको छ ।M1.jpg
    राज्यले कृषि बिमा गर्ने गराउने भनेपनि कृषकहरुले सुविधा पाउन सकेका छैनन् । बिमा गर्न गएपनि सरकारले शुल्क नतिर्ने गरेकाले बिमा कम्पनीहरुले बिमा गर्न नमान्ने गरेको किसानहरुको गुनासो रहेको वालिङ नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापा बताउँनुहुन्छ । असिना पानीले क्षति गरेको भनी ३ जनाले लिखितरुपमा समस्या राख्न आएका र मौखिकरुपमा समस्यामा प¥यौं भन्नेहरु धेरैजना भएको कृषि शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।

    बिहिवार, जेठ १० २०८१०६:०५:१९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend