जेठ १२, वालिङ
स्याङ्जाको वालिङ ८ मा रहेको गौशालाको प्रथम अधिवेशन सम्पन्न भएको छ । वालिङ ८ को काफलडाँडामा रहेको धुनी शिवालय फूलबारी गुठि गौशाला आश्रमको प्रथम साधारण सभा तथा अधिवेसनले कमल सुवेदीको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भेषकुमारी पंगेनी, कोषाध्यक्ष सरिता पौडेल, सचिव श्यामप्रसाद शर्मा र अरु ९ जना सदस्यसहित १३ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।
साधारणसभा तथा अधिवेसनको उद्घाटन समारोहमा सर्वोत्कृष्ट दानदाता वालिङ ६ का जयबल्लब सुवेदीले आश्रमलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभयो । धार्मिक तथा वैज्ञानिक महत्वको गाई संरक्षणको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा निवर्तमान नगरप्रमुख दिलिपप्रताप खांँणले गौशालालाई जिवन्त राख्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । भागवतआलांकार पण्डित नेत्रप्रसाद पराजुली, रुरु गौशालाका संरक्षक शिवशंकर गिरीलगाएत समाजसेवी तथा सर्वसाधारणको उपस्थितिमा आश्रमको प्रथम साधारण सभा तथा अधिवेसन गरिएको हो ।