जेठ १८, वालिङ
स्याङ्जाको वालिङ नगरपालिकाले कृषि फर्महरु अनुगमनलाई तिब्रता दिएको छ । ब्यावसायिक किसानहरुको अवस्था के कस्तो छ ? र के कस्ता समस्याहरु छन् भनेर बुझ्नका लागि प्राविधिकसहित अनुगमनलाई तिब्रता दिइएको नगरपालिकाले जनाएको छ । मासु पसलहरुको अनुगमन गरिसकेको नगरपालिकाले आजदेखि पशुपालन फर्महरु सुरु गरेको हो ।
किसानहरुको अवस्था के कस्तो छ र के कस्ता समस्याहरु छन् भनेर बुझ्नका लागि अनुगमन गरिएको वालिङ नगर उपप्रमुख कविता तिवारी गैहे«ले जानकारी दिनुभयो ।
यो वर्ष नगरपालिकाले रणनीतिक योजना अन्तर्गत मासु, दुध र तरकारीमा आत्मनिर्भर हुनुपर्छ भनेर लागेको थियो । नगर उप प्रमुख गैहे«ले भन्नुभयो, “नगरपालिकाको साझेदारीमा अगाडि बढेका किसानहरु के कसरी काम गर्नु भएको छ ? अनुदानबाट के कति लाभान्वित भएको महसुस गर्नुभएको छ र कत्तिको खुसी हुनुहुन्छ भन्ने बुझ्नका लागि अनुगमन गरिएको हो । यो वर्ष नगरपालिकाले १ सय वटा गाई वितरण गर्ने कार्यक्रम बनाएकोमा ७० भन्दा धेरै वितरण गरिसकिएको छ । किसानहरुको मागको आधारमा योजना अनुसार वितरणलाई निरन्तरता दिइने छ । गाईलाई प्राथमिकतामा पारेपनि भैंसीलगायतका अन्य पशुहरुकालागि पनि अनुदान उपलव्ध गराएका छौं । त्यसैले नगरपालिकाले आफ्ने दायित्व सम्झेर किसानहरुको अवस्था बुझन अनुगमनको कार्यक्रम अगाडि बढाइएको हो ।”
व्यावसायिक किसानहरुलाई प्रति पशु खरिदका लागि रु. ५० हजारकासाथै दुधमा प्रति लिटरमा रु.१० अनुदान उपलव्ध गराइिएको अवस्था छ । यसबाट किसानहरु कत्तिको उत्साही र खुसी छन् भनेर पनि अनुगमन गरिएको उप प्रमुख गैहे«ले उल्लेख गर्नुभयो । नगरपालिकाको अनुदानसहितको साझेदारीबाट किसानलाई उत्साही बनाएको अनुगमनका क्रममा पाइएको छ । यसकासाथै पशु बीमाको सुविधा पनि प्रदान गरिएको छ । योसँगै अझ बढि सहयोग गर्न सकियोस भन्ने अवधारणा बनाएको उहाँको भनाई छ । दानामा बढि खर्च हुँदा किसानहरु नाफामा जान नसकेको हो कि भन्ने हाम्रो ठम्याइ छ, यसका लागि आगामी आर्थिक वर्ष घाँसको व्यवस्थापनका लागि सोंच बनाएका छौं । बाँझो जग्गाको सदुपयोग गरेर घाँसको व्यवस्थापनमा लाग्ने योजनामा छौं । यसैगरी तरकारी बालीका लागि पनि पालिकाले सहयोग गर्दै आएको छ । यसलाई निरन्तरता दिएर किसानहरुलाई आत्मनिर्भर बनाउन नगरपालिका प्रतिवद्ध रहेको उप प्रमुख गैहे«ले व्यक्त गर्नुभयो ।
नगरपालिकाको पशु शाखाले उपलव्ध गराए अनुसार गाई ल्याइएको छ कि छैन र गाई र गोठको अवस्था कस्तो छ भनेर अनुगमन गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख डा. रोशन बस्यालले बताउनुभयो । अहिले मुख्य गरेर गाईसँग सम्बन्धित कार्यक्रम हो । यसकासाथै घाँस विकास, बाख्रा, बङ्गुर विकास कार्यक्रम पनि छन् । तिनीहरुको पनि अनुगमन गरिरहेका डाक्टर बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाईको गुण र दुध उत्पादनको अवस्थासँगै घाँसको व्यवस्थापनको अनुगमन गरेका छौं । स्थानीय जातका पशु र परम्परागतरुपमा पाल्नेहरुको उत्पादन कम नै देखिन्छ भने उन्नत जातको पशुबाट उत्पादन राम्रो भएको पाइएको छ । सरसफाईमा भने केही कमि देखिन्छ । यसका लागि आवस्यक सुझाव दिने गरेका छौं ।”