जेठ२१ , काठमाडौं । सोमबार बिहान ८ बजे सडक विभागको टोली सडक टिपर र ट्रकमा कालोपत्रे गर्न आवश्यक अस्फाल्ट, गिटी र केही कामदार लिएर इन्द्रचोकमा ओर्लियो ।
१२ जेठमा काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न भन्दै काटेको इन्द्रचोकदेखि जुद्धशालिकतर्फको सडकको पिच टाल्न सडक विभाग मातहतको डिभिजन सडक कार्यालय काठमाडौंले टोली पठाएको थियो । सडक कार्यालयको टोली आएको खबर पाउनेबित्तिकै काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुखसहितको टोली त्यहाँ पठायो । सँगै मेयर बालेन शाहले फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै स्टाटस लेखे ।
एमाले नेता रघुवीर महासेठले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो काममा हस्तक्षेप गरेको भन्दै बालेनले गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणको विषय उठाएर ओलीलाई आरोपित गरेका थिए ।
‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ’, बालेनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ ।’ विभागले धमाधम पिच टालिरहेका बेला काठमाडौं महानगरपालिकाको नगर प्रहरी पुगेको थियो, त्यहाँ दुई पक्षबीच केहीबेर कुराकानी भयो र नगर प्रहरी फर्कियो ।