जेठ २२, वालिङ
पाल्पाको रामपुरमा महिलाहरुका लागि हस्तकलासम्बन्धी तालिम प्रदान गरिएको छ । महिला दिदिबहिनीहरुले प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम प्रदान गरिएको हो । महिला दिदिबहनीहरुले मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपीलगाएत विभिन्न सामग्री बनाउने सिप सिकेका हुन । रामपुर नगरपालिका भित्रका ४० जना महिला दिदिबहनीहरुले हस्तकलाका सामग्री बनाउन सिकेका छन् । नगरपालिकाको आयोजनामा वडा न.५ र ६ मा भएको एक महिने तालिमको मंगलबार समापन गरिएको छ ।
तालिम समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सिकेका सिपको माध्यमबाट हस्तकलाका सामग्री उत्पादन गर्न आग्रह गर्नु भएको छ । नगर प्रमुख थापाले उत्पादित हस्तकला सामग्री नगरपालिकाले खरिद गरिदिने र उत्पादनको आधारमा अनुदान पनि उपलव्ध गराउने बताउनु भयो । उहाँले भन्नुभयो– “सिकेको सिपको सदुपयोग गरेर उत्पादन गर्नुस त्यसको बजारीकरण र खरिद नगरपालिकाले गर्छ ।“ नगरपालिकामा हुने विभिन्न कार्यक्रममा स्वागत सम्मान गर्दा मायाको चिनो उपहारको रुपमा प्रदान गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिने उहाँको भनाई छ । स्थानीय स्रोत र साधनको सदुपयोग गरी महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिईएको नगर थापाले बताउनुभयो ।
यस्तै उपप्रमुख बालकुमारी थापाले महिला दिदिबहिनीहरुलाई स्वाबलम्बी र उद्यमी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत जोड दिंदै आएको बताउनु भयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गाँउघरमा पाईने मकैको खोस्टा र थाकलको पातबाट पनि आयआर्जन गरी आत्मनिर्भर बनाउन तालिम सञचालन गरिएको हो । तालिममा सिकेका सिपको माध्यमबाट उत्पादित बस्तु नगरपालिकाले खरिदगरी उपप्रमुख कोशेली घर मार्फत खरिद गर्ने उप प्रमुख थापाले व्यक्त गर्नुभयो ।