जेठ २३, वालिङ
बुटवल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धि विरुद्ध जारी आन्दोलनलाई थप शसक्त पारिने भएको छ । बुधबार स्याङ्जाको वालिङमा सरोकारवालाहरुद्वारा आयोजित प्रतिनिधिमूलक उपस्थितिमा गरिएको अन्तरक्रियात्मक कार्यक्रमसहितको भेलाले बुटवल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धि विरुद्ध जारी आन्दोलनलाई थप शसक्त पारिने जनाएका हुन् ।
कम्पनीको गल्याङस्थित कार्यालय र वालिङमा रहेका कार्यालयमा उपस्थित भई मूल्य वृद्धिको निर्णय गरेदेखि नै बिभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार एवम् आम उपभोक्ताहरुले एक महिनादेखि चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
विद्युत नियमन आयोगले महसुल वृद्धिका लागि कम्पनीलाई दिएको अनुमति सरासर गलत रहेको भन्दै आम उपभोक्ताहरुले विरोधसहित आन्दोलन गर्दै आएका हुन् । आन्दोलनकारीहरुले कम्पनीको गल्याङ तथा वालिङस्थित कार्यालयमा गई अनुरोध गर्ने, ज्ञापनपत्र बुझाउने, हस्ताक्षर अभियान चलाउनेदेखि काठमाडौंसम्म पुगी प्रधानमन्त्री समक्ष विद्युत महसुल बढाउन नहुने विषयमा जानकारीसहित ज्ञावनपत्र बुझाएका छन् ।
देशको अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा विद्युत जस्तो दैनिक जीवनयापनमा आवस्यक पर्ने सेवामा अस्वभाविक चर्को मूल्य वृद्धि न्यायोचित नभएकाले कम्पनीको गलत कदमका विरुद्ध शसक्त आन्दोलन गर्न बाध्य भएको उनिहरुको भनाई छ । बिभिन्न राजनीतिक दलका प्रतिनिधिसहित आम उपभोक्ताले काठमाडौंसम्म गरिएका चरणवद्ध आन्दोलनका कार्यक्रमबाट पनि कम्पनीले कुनै सुनुवाई नगरेकाले थप शसक्त आन्दोलन गर्न आवस्यक रहेको सहभागीहरुले जनाएका छन् ।
आम उपभोक्ताको ढाड सेक्नेगरी गरिने महसुल वृद्धिमा विद्युत नियमन आयोग र कम्पनीबीच आर्थिक चलखेल हुनसक्ने उनिहरुको आरोप छ ।
वालिङ नगरपालिकाद्वारा गरिएको प्रतिनिधि मूलक भेलामा छिमेकी पालिकाहरु गल्याङ, चापाकोट र पाल्पाको रामपुर नगरपालिकाका प्रमुख उप प्रमुखसहित बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले आन्दोलनमा ऐक्यवद्ध भई थप शसक्तरुपमा अगाडि बढाउने निर्णय गरेका छन् ।