जेठ २४, वालिङ
वालिङ नगरपालिकाको ८ नम्वर वडाले भिआइपि टोललाई नाम अनुसारकै भिआइपि बनाउन लागि परेको छ । नागरिकहरुका माग र आवस्यकताको पहिचान गरी विकास निर्माणका योजनाहरु अगाडि बढाएको वडाले वालिङको मुख्य बजारको भिआइपि टोललाई नाम अनुसारकै भिआइपि बनाउन लागि परेको हो । स्मार्टसिटीको अवधारणासहित अगाडि बढेको नगरपालिकाको केन्द्र भागमा ८ नम्वर वडा रहेको छ । सिद्धार्थ राजमार्गसँग जोडिएको भिआइपि टोलमा अहिले पदमार्गसहितको नाली निर्माणको काम द्रुत गतिमा भैरहेको छ । अब केही दिनमै व्यवस्थित नाली निर्माणसहित ढुङ्गा लगाएर फुटपाथ बनाइने वडा अध्यक्ष दामोदर तिवारीले जानकारी दिनुभयो । नाली ठूलो र व्यवस्थित बनेसँगै त्यहीमाथि ढुङ्गा लगाएर फुटपाथ बनाइने अध्यक्ष तिवारीले उल्लेख गर्नुभयो । अध्यक्ष तिवारीका अनुसार १५ लाखको लागतमा १ सय २ मिटर नाली निर्माणसँगै व्यवस्थित र आकर्षक फुटपाथ बन्ने छ । योसँगै नगरका शाखा सडकदेखि मुख्य बजार क्षेत्रमा सडक मर्मत सम्भार एवम् नाली बनाउने कामहरु चलिरहेका छन् । यो आर्थिकको विनियोजित बजेट अनुसारका अधिकांश योजनाहरु सम्पन्न भैसकेका वडा अध्यक्ष तिवारीले व्यक्त गर्नुभयो । सीमित बजेटका बावजुद पनि हामी विनियोजित रकमको समुचित उपयोग गरी वडाबासीको माग र आवस्यककतालाई अधिकतम सम्वोधन हुनेगरी काम गर्दै आएको र आगामी दिनमा अझ परिस्कृत ढङ्गले विकास निर्माणका गतिविधि अगाडि बढाइने वडा अध्यक्ष तिवारीको भनाई छ ।
अहिले बजारको दक्षिणी भागमा निर्माण हुने छ भने आगामी वर्ष अर्को साइडमा पनि बनाउन पहल गरिने टोल विकास समितिका संयोजक श्यामधिराज मल्लको भनाई छ । सम्भवतः आगामी वर्ष भिआइपि टोललाई साच्चैको भिआइपि बनाइने टोल संयोजक मल्लले व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष २०८०÷०८१ का विनियोजित बजेट अनुसारका ८५ प्रतिशत योजनाहरु सम्पन्न भैसकेका छन् । बाँकि योजनाहरु पनि अबको १५ दिनसम्म सम्पन्न हुनेगरी काम भैरहेको वडा कार्यालयले जनाएको छ ।
