जेठ २६, वालिङ
स्याङ््जाको चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ । चापाकोट नगरपालिका वडा नम्वर ९ मा ३ दिने उद्घोषण तथा क्षमता विकास तालिम शनिबारदेखि सुरु भएको हो । ९ नम्वर वडाले लक्षित समूह कार्यक्रम अन्तर्गत तीनदिने उद्घोषण तथा क्षमता विकास तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव खनालले समाजमा नेतृत्व गर्नका लागि उद्घोषण तथा क्षमता विकास सम्बन्धी तालिम आवश्यक रहेको बताउनुभयो । यसै बस्दा वा भेटघाट समयमा कुरा राख्नसके पनि समूहमा अथवा मञ्चीय कार्यक्रममा खुलेर आफ्ना भनाई राख्न नसक्ने धेरै जनामा समस्या हुने गर्दछ । बोल्ने कलाको विकासले व्यक्तिको क्षमता विकास हुने भएकाले उद्घोषण तालिम हामी सबैलाई आवस्यक पर्ने प्रमुख प्रशासकीय अधिकृत खनालले उल्लेख गर्नुभयो । व्यक्तित्व विकाससँगै समाजमा नेतृत्व गर्न सहयोग पुग्ने भएकाले तालिमको सहि उपयोग गर्न सहभागीलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा अधिकृत इन्दु भेटवालले बोल्न सिक्नु व्यक्तित्व विकास गर्नु भएको बताउनुभयो । फरक स्थान र परिवेशमा अवस्था अनुसार बोल्नुपर्ने हुन्छ, यसका लागि समय समयमा यस्ता तालिम लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
८० जनाको सहभागिता रहेको तालिममा वालिङ टेलिभिजनका गोपाल जिटी र रेडियो आँधीखोलाका कला रानाले सहजिकरण गरेका छन् । 