जेठ २९, वालिङ
चापाकोट नगर प्रमुख देवबहादुर खाँण ( इश्वर ) ले महिलाहरुको क्षमता विकासका लागि नगरपालिका सँधै तयार रहेको बताउनु भएको छ । ९ नम्वर वडाले आयोजना गरेको उद्घोषण तथा क्षमता विकाससम्बन्धी तीनदिने तालिमको सोमबार समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले महिलाहरुको क्षमता विकासका लागि नगरपालिका सँधै तयार रहेको बताउनु भएको हो । बोल्ने कला र क्षमता विकाससम्बन्धी तालिमले व्यक्तित्व विकासमा टेवा पुग्ने हुनाले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्न आवस्यक हुने उहाँले औंल्याउनुभयो । उहाँले ९ नम्वर वडाले लक्षित कार्यक्रम अन्तर्गत महिला शसक्तिकरणमा टेवा पु¥याउने तालिम कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको बताउनुभयो । मानिसले जन्मदा केही जानिएको हुँदैन, सिक्दै जानेकुरा हो, त्यसैले क्षमता विकाससम्बन्धी तालिम महत्वपूर्ण कुरा हो । नगर प्रमुख खाँणले भन्नुभयो, “महिलाहरुका लागि यस्ता तालिम अति आवस्यक छ । जहाँसम्म महिलाहरुको ३३ प्रतिशतको कुरा छ, यतिमै सीमित रहने नभएर सयमा सय प्रतिशत सहभागिता हुनुपर्छ, त्यसका लागि आवस्यक ज्ञान आर्जनसँगै क्षमतावान हुदैजानुपर्छ ।”
कायृक्रममा वडा अध्यक्ष कृष्ण सुवेदीले बोल्ने कलाको विकास भनेको व्यक्तित्व विकासमा महत्वपूर्ण हुने भएकाले उद्घोषण तथा क्षमता विकाससम्बन्धी तालिम आयोजना गरिएको बताउनुभयो । महिला शसक्तिकरणमा सहयोग पुगोस भनेर तीनदिने तालिमको आयोजना गरिएको भन्दै वडा अध्यक्ष सुवेदीले आगामी दिनमा पनि ज्ञान र सीपसँगै क्षमता विकाससम्बन्धी कार्यक्रमलाई वडाले प्राथमिकता दिने उल्लेख गर्नुभयो । तालिमका सिकेका कुरालाई व्यवहारमा उतारेर महिला दिदी बहिनीहरु अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।
यही जेठ २६ देखि २८ गतेसम्म चापाकोटको सिटीहलमा सञ्चालित तालिममा ८० जनाको सहभागिता रहेको थियो भने वालिङ टेलिभिजनका गोपाल जिटी र रेडियो आँधीखोलाका कला रानाले सहजिकरण गरेका थिए । 