जेठ ३२, वालिङ
वालिङमा श्रमिक शिक्षा र श्रम अडिट सम्बन्धी चेतनामुलक कार्यक्रम गरिएको छ । विहिबार उद्योग वाणिज्य संघको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
यहाँका उद्योगी तथा व्यवसायीहरुले आफ्नो फर्ममा श्रमिक ऐन कानुन अनुसार अगाडि बढून भन्ने उद्देश्यले उद्योगी व्यवसायीका लागि यो कार्यक्रम गरिएको हो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले श्रमिकको हितमा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि यहाँका उद्योगी व्यवसायीहरुले श्रम ऐनअनुसार कामदार राख्ने र श्रमको अडिट पनि गर्ने प्रतिवद्धता जनाउनुभयो ।
साथै उहाँले उद्योगी व्यवसायीहरुलाई समय सापेक्ष सचेतनामूलक कार्यक्रमहरु सम्बन्धित कार्यालयसंँग समन्वय गरेर सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले रोजगारीको हक, श्रमको हक, श्रमिकको प्रकार, श्रम सम्बन्धी उजुरीका विषयमा कार्यालयले प्रवाह गरेको कार्य, श्रम सम्झौता, न्युनतम पारिश्रमिक, बाल श्रम, श्रमिकको दायित्व सहित समग्र श्रम ऐन तथा नियमावलीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कार्यालयका बलराम कुशवाहले श्रम अडिट कसरी गर्ने भन्ने विषयमा जानकारी गराउँदै यसको महत्वका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 