जेठ ३२, वालिङ
पाल्पाको रामपुरमा एकदिने अभिमुखी कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको हो । वडा सदस्यहरुको काम कर्तव्य र अधिकार,स्थानीय सरकार सञ्चालन ऐन ,योजना, प्रशासनीक काम, लेखा सम्बन्धी व्यवस्था लगाएतका विषयमा अभिमुखिकरण शुक्रबार गरिएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जनप्रतिनिधी संँग जनताको अपेक्षा बढिहुने भएकाले जवाफदेही हुनुपर्ने बताउनुभयो । हरेक समस्या संँग जनप्रतिनिधी जोडिए पनि कानुनी प्रक्रिया र व्यवस्था बारे जानकारी दिन नसक्दा जनप्रतिनिधी र जनताबीचको सम्बन्ध टाढा भएको नगर प्रमुख थापाले औंल्याउनुभयो । उहाँले हरेक विषयको छिटो परिणाम खोजे पनि कानुनी बाधाका कारण जनताको समस्या सामाधान गर्न नसकिने उल्लेख गर्नुभयो । साथै हरेक तहगत संरचनाका जनप्रतिनिधीले जनतालाई केन्द्रमा राखेर काम गर्न आफ्नो काम कर्तव्य र अधिकार बारे जानकार हुनुपर्ने उहाँको भनाई छ ।
यस्तै उपप्रमुख बालकुमारी थापाले जनताको आवश्यकता र आशा जनप्रतिनिधी संँग धेरै हुने भन्दै सबै विषयमा पूर्ण जानकार हुन आवश्यक रहेको बताउनुभयो । साथै जनताको हरेक समस्याको समाधानका लागि कानुनी रुपमा सहजिकरण गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले दैनिक वडा र नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बारे जनप्रतिनिधीले सहजिकरण गर्नसकेमा थप सहज हुने बताउनुभयो