असार ७, वालिङ
नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले वर्तमान सत्ता समिकरण परिवर्तन नहुँने बताउनुभएको छ । देशलाई संकटबाट उतार्नको निम्ति एमाले सरकारमा गएको भन्दै आलोचना गर्दैमा सरकारको सत्ता समिकरण परिवर्तन हुन्छ भन्ने भ्रम नपाल्न उहाँले आग्रह गर्नुभएको हो ।
शनिबार नेकपा एमाले वालिङ नगरकमिटिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहनुभएकी अर्यालले व्याप्त बेथिति र देशको संकट मोचनका लागि एमाले सरकारमा गएको उल्लेख गर्दै यो समिकरण मिसन ८४ सम्म रहने विश्वास व्यक्त गर्नुभयो । सचिव अर्यालले भन्नुभयो, “देशबाट हुने सबैखालका पलायन रोक्न आवश्यक छ । युवा पलायन भएका छन् । युवासंगै सिप, जोस, जाँगर र पुँजीसमेत पलायन भएको छ, यो पलायन रोक्न सकिएन भने देशको समृद्धि हुन सक्दैन् ।”
सत्तामा बस्दैमा सरकारको गलत कामलाई सही भन्न नसकिने भन्दै सचिव अर्यालले सरकारलाई सुझाव दिईरहँदा यो समिकरण परिवर्तन हुन्छ की भन्ने शंका गर्न नपर्ने धारणा राख्नुभयो । मन्त्रीका लागि मात्रै यो समिकरण नभएको र देशलाई सहि मार्गमा हिँडाउन यो सत्ता समिकरण भएको उहाँको भनाई छ । सरकारलाई स्वतन्त्र रुपमा अगाडि बढाउन एमाले लागि परेको र सत्ताका लागि कुनै बार्गेनिङ नगरेको स्पष्ट पार्नुभयो ।
सरकारको सहयोगीको रुपमा एमाले सत्तामा रहने भन्दै प्रधानमन्त्रीलाई कुनै खालका डिस्टर्व नगरी काम गर्न दिने तर गलत कुरामा आलोचना र सुझाव पनि दिने उहाँले बताउनुभयो । केहि तत्व सत्ता समिकरण भत्काउन लागि परेपनि सफल नभएको भन्दै यो सरकारलाई एमालेले नै टिकाउने र मिसन ८४ सम्म रहने उहाँको दावी छ ।
कार्यक्रम वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ र संचालन सचिव यमकान्त खनालले गर्नुभएको थियो । शनिबारसम्म चल्ने अधिवेशनमा भुगोलबाट १ सय ७३, आयोजक १ सय ४, सल्लाहकार ७५, मनोनित १९, जनसंगठन २९, समाजेशी ९ गरी ४११ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले ५ पदाधिकारी सहित ७५ सदस्यीय कमिटि निर्माण गर्नेछ । जसमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा, जनजाति, अल्पसंख्यक, दलित, मुस्लिम गरी समावेसिताको आधारमा कमिटिमा चयन हुनेछन् । 