असार १४, वालिङ
स्याङ्जाको बिरुवाले बालश्रममुक्त गाउँपालिका घोषणा गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बालश्रम मुक्त बिरुवा गाउँपालिका घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले गण्डकी प्रदेशमै बिरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।
हामीले सुुुसूचित गरे अनुसार गाउँ घरमा बालबालिकाहरुको अवस्था बुझेर मात्र बालश्रम मुक्त बिरुवा गाउँपालिका घोषणा गरिएको अध्यक्ष कुँवरले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालय जानबाट बञ्चित छन् कि छैनन्, बाल अधिकार विपरित कार्यमा लगाइएका बालबालिका छन् कि छैनन् अध्ययन अनुगमन गरेका छौं । कानून विपरित बालश्रममा लगाइएका छन् कि छैनन् भन्ने बुझेर मात्र बालश्रम मुक्त गाउँपालिका घोषणा कार्यक्रम गरिएको हो ।”
अध्यक्ष कुँवरले घोषणासँगै व्यवहारमै बालश्रम मुक्त बनाउन सबैको साथ र सहयोग रहने विश्वास लिएको व्यक्त गर्नुभयो ।
बिरुवाका ८ वटै वडाले बालबालिकालाई श्रममा लगाउँदैनौं भनेर प्रतिवद्धता जनाएपछि बालश्रम मुक्त बिरुवा गाउँपालिका घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो 
गण्डकी प्रदेशमा विरुवा गाउँपालिका पहिलो बालश्रम मुक्त घोषणा गरिनु ऐतिहासिक कार्य भएको अध्यक्ष कुँवरको भनाई छ । राष्ट्रिय बाल अधिकार परिषदका गण्डकी प्रदेश समन्वय अधिकृत बद्रिप्रसाद वाग्लेले १४ वर्षसम्मका बालबालिकालाई बालश्रममा लगाउनु हुदैन यो कानून विरुद्ध हुने बताउनुभयो । बालबालिकालाई काममा नै लगाउनु हुदैन भन्ने होइन, काममा लगाउन र सिकाउदै जानुपर्छ । श्रमिककारुपमा र जोखिमयुक्त कार्यमा बालबालिकालाई लगाउन हुदैन भनिएको उहाँले स्पष्ट पार्नुभयो । बालश्रम मुक्त घोषणाका लागि सहयोगी संस्था राष्ट्रिय बाल अधिकार परिषद काठमाडौं र गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपाललाई अध्यक्ष कुँवरले धन्यवाद दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक एवम् सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरुद्वारा बालश्रम मुक्त बिरुवा गाउँपालिका घोषणा कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बालश्रम नगरौं, नगराऔं, बालश्रम कानून विरुद्धको कार्य हो । बालश्रम दण्डनीय अपराध हो । बालश्रम मुक्त घोषणा कार्यक्रम सफल पारौं लगायत लेखिएका प्लेकार्डसहित गाउँकार्यपालिकाको कार्यपालिकाबाट निकालिएको ¥याली बिरुवा बजार परिक्रमा गरी बालश्रम मुक्त घोषणा कार्यक्रमको औपचारिक सभामा परिणत भएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद ललितपुर एवम् गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालको समन्वय तथा सहकार्य र गाउँपालिकाको आयोजनामा बालश्रम मुक्त बिरुवा गाउँपालिका घोषणा गरिएको हो ।