Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फोहरलाई मोहर बनाउदै रामपुर नगरपालिका 

फोहरलाई मोहर बनाउदै रामपुर नगरपालिका 

  • PNN Times
  • बुधवार, कार्तिक ५ २०७७


  • इमानसिंह राना 
    कार्तिक ५, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले फोहोर बाट कम्पोष्ट मल बनाउन सुरु गरेको छ । बजार क्षेत्रको फोहोर जलाएर तथा गाडेर व्यवस्थापन गर्दै आएको पालिकाले प्रशोधन गरी कुहिने फोहोर बाट मल बनाउन थालेको हो ।
    नगरपालिकाले २०७२ सालमा फोहोर व्यवस्थापनका लागि जग्गा खरिद गरे पनि स्थानियको अवरोधका कारण केही वर्ष देखि नगरपालिका परिसरमै जलाएर र गाडेर व्यवस्थापन गर्दै आएको थियो । अहिले फोहोरलाई प्रशोधन गरी मल उत्पादन गर्न थालेको छ । उद्यम चौतारी प्रा.लि. र सुर्योदय क्लव स्याङ्जा संग समन्वय गरी नगरपालिकाले थालेको प्रयासको बजार बासीले स्वागत गरेका छन् ।
     
    साथै सरोकारवालाहरुले परिक्षण पश्चात दिर्घकालीन रुपमा फोहोर व्यवस्थापनका लागि वातावरण मिलाउन आग्रह गरेका छन । वडा नं. ५ को बेझाँड बजार, वडा नं. ४ को बाङ्गेपसल लगाएतका स्थान बाट दैनिक फोहोर संकलन गर्दै आएको पालिकाले झण्डै २० लाखको लागतमा मेशिन खरिद गरी मल बनाउन थालेको हो ।

    फोहोर प्रशोधन मेसिनबाट एक पटकमा पाँच क्वीन्टल कुहीने फोहोरलाई प्रशोधन गरी करिव १५ देखि २० प्रतिशत मल उत्पादन गर्न सकिन्छ । नगरपालिकाले कुहिने फोहोरलाई प्रशोधन गरी प्राङ्गारिक मल बनाउने र नकुहिने पलाष्टिक र धातु जन्य फोहोर छुट्याएर मोहोरको रुपमा बदल्ने योजनामा रहेको छ । साझेदार संस्थाहरु संग मौखिक रुपमा सम्झौता भैसकेको जनाएको छ । खरिद गरिएको जग्गामा स्थानियको विरोध भएपछि बाध्य भएर कार्यालय परिसरमै फोहोर व्यवस्थापन गर्दै आएको पालिकाले फोहोरलाई मोहर बनाउन सकिन्छ भन्ने सचेतनाको लागि केही समय सोही स्थानमा प्रशोधन गरिने नगरपालिकाले बताएको छ ।

    फोहोर व्यवस्थापनको लागी रकम संकलन गर्दै आएको रामपुर नगरपालिकाले फोहोर खरिद गर्ने तयारी गरिरहेको छ । पछिल्लो केही बर्ष यता नगरमा बढ्दो शहरीकरण संगै फोहोरको मात्रा पनि दैनिक रुपमा बढि रहेको छ ।  अहिले केही समयका लागी नगरपालिकाको कार्यालय परिसरमा रहेको फोहोर प्रशोधन मेसिनबाट फोहोर व्यवस्थापन गरे पनि दिगो व्यवस्थापनका लागी भने अन्यत्र स्थान खोज्नु पर्ने देखिन्छ । कुनै मानव बस्तीलाई असर नपुग्ने स्थानको छनौट गरी स्थायी फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोरको उचित व्यवस्थापनका लागी सवैको समन्वय जरुरी छ ।

    बुधवार, कार्तिक ५ २०७७०२:३०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend